चितवन । चितवनको भरतपुर-१ वागीश्वरीस्थित योगी नरहरिनाथ आश्रममा जारी कोटिहोम महायज्ञ भजन प्रतियोगिताका कारण अझ संगीतमय बनेको छ । प्रतियोगिताको लागि ४३ वटा समूहले नाम दर्ता गराएका छन् भने यहि जेठ ३० गते फाइनल हुँदैछ ।
महायज्ञ सुरु भएको ३५ दिन हुँदै गर्दा बहालवाला प्रधानसेनापतिदेखि पूर्वयुवराज पारस शाहसम्मले महायज्ञको दर्शन गरेका छन् । पूर्वयुवराज शाहले मंगलबार महायज्ञको दर्शन गर्नुका साथै पूर्वराजा वीरेन्द्र शाहको परिवारलाई श्रद्धाञ्जलि दिए । २५ वर्षअघि तत्कालीन राजा वीरेन्द्र शाहको परिवारको हत्या भएको थियो ।
गत वैशाख १७ गतेदेखि सुरू भएको कोटिहोम महायज्ञ आगामी असार १३ गतेसम्म चल्नेछ । राष्ट्र शान्ति र विश्व शान्तिकोे कामना गर्दै श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञ गरिएको हो । महायज्ञमा बिज मन्त्रद्वारा नियमित हवन भइरहेको छ भने गायत्री मन्त्रद्वारा लक्ष्य हवन सम्पन्न भएको छ । हाल सहस्र चण्डी पाठ भइरहेको छ ।
महायज्ञमा आगामी असार ६ गते नौ वर्षमुनिका एक हजार आठ बालिकाको सामूहिक पूजन गरिँदै छ । सामूहिक पूजनका लागि नौ वर्षमुनिका बालिका र अभिभावकको नाम टिपाउन आयोजकले आग्रह गरेको छ ।
असार ८ गते पाँचसरे सवा करोड दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको महायज्ञ संयोजक एवम् मुख्यकर्ता प्रेमनिधि भारद्वाजले जानकारी दिए । महायज्ञमा प्रमुख वाचक ज्योतिष पण्डित परशुराम पाण्डेयले दैनिक भागवत कथावाचन गरिरहेका छन् ।





प्रतिकृया दिनुहोस्