काठमाडौँ । चितवनको भरतपुरमा हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा सहभागी हुने भएका छन् । सभापति थापाका स्वकीय सचिव शंकर कुइँकेलका अनुसार सभापति थापा आज हुने रास्वपा महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम छ ।
‘सभापतिज्यू आज चितवन जानुहुन्छ, रास्वपा महाधिवेशन समुद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम छ,’ कुइँकेलले भने । रास्वपाले प्रथम महाधिवेशनमा दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरेको थियो । रास्वपा सचिवालय सदस्य दीपक बोहराले पनि कांग्रेस सभापति थापा महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुने खबर आएको बताए ।
सभापति थापाले आज बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सभापति रवि लामिछानेलाई शुभकामना दिएका थिए । सभापति थापाले रास्वपा स्थापनाको छोटो अवधीमै रास्वपाले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको बताएका छन् ।
रास्वपा महाधिवेशनमा नेकपा एमालेबाट नेता प्रदीप ज्ञवाली, नेकपाबाट नेता वर्षमान पुन, राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी हुने भएका छन् । रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्रीसमेत रहेका रास्वपा वरिष्ठ नेता बालेन शाह पनि परिवारसहित चितवन आइपुगेका छन् ।





प्रतिकृया दिनुहोस्