चितवन । चितवनको भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन बन्दसत्र भोलि मंगलबार बिहानसम्मका लागि स्थगित गरिएको छ ।
रास्वपाको निर्वाचन कार्यतालिका अन्तर्गत सोमबार बिहानैदेखि बन्दसत्र सुरु गर्ने तालिका भए पनि महाधिवेशन प्रतिनिधिमा रहेको विवाद टुंगिन नसक्दा मंगलबारसम्मका लागि बन्दसत्र स्थगित गरिएको हो । भोलि मंगलबार बिहान आठ बजेबाट बन्दसत्र सञ्चालन हुने रास्वपाको केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले जानकारी दिए । सोमबार सुरु हुने भनिएको बन्दसत्र मंगलबारसम्मका लागि सरेपछि रास्वपाको निर्वाचन कार्यतालिकासमेत प्रभावित भएको छ ।
सोमबार बिहान साढे ८ बजेका लागि तय गरिएको बन्दसत्र प्रतिनिधिको नाममा देखिएको विवाद नटुंगिएपछि बन्दसत्र सरेको हो । निर्वाचन प्रमुख केसीले भने, ‘आज (सोमबार) प्रतिनिधि कार्ड वितरण गरिने छ ।’ महाधिवेशन प्रतिनिधिमा सांसद र केन्द्रीय नेताहरूकै नाम छुटेपछि बन्दसत्र सञ्चालनको समय ढिलाइ भएको हो ।
छुटेका सांसद, केन्द्रीय प्रतिनिधिसहित जिल्लाका नेताहरूलाई समेट्ने गरी बन्दसत्र सारिएको रास्वपाका एक नेताले बताए । ती नेताका अनुसार १० जनाभन्दा बढी सांसद र केन्द्रीय नेताको नाम छुटेको फेला परेपछि उनीहरुले प्रतिनिधिमा दाबी विरोध पेस गरेका थिए । यस महाधिवेशनले रास्वपाको नयाँ नेतृत्व चयन गर्नेछ ।





प्रतिकृया दिनुहोस्