नवलपुर । नवलपुरको गैँडाकोटमा एनआईटी कलेज सञ्चालनमा आएको छ । काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन लिएर पढ्दै कमाउँदै अवधारणामा कलेज सञ्चालन गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
गैँडाकोट–५ काँग्रेसचोकमा स्नातक तह अन्तर्गत ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बिआईटी) कार्यक्रम सञ्चालन गर्ने गरी कलेज सञ्चालन गरिएको कलेजका अध्यक्ष छविलाल कँडेलले बताए । एनआईटी कलेजले चालु शैक्षिक सत्र २०८३ का लागि सीमित सिटमा बिआईटी कार्यक्रममा भर्ना खुला गरेको कँडेलको भनाइ छ । पढ्दै कमाउँदै अवधारणा अन्तर्गत विद्यार्थीहरूलाई स्नातक तहको अध्ययनसँगै रोजगारीको अवसर प्रदान गरिने कँडेलले बताए ।
कलेजका प्रिन्सिपल ई मनोज सापकोटाले विद्यार्थीहरुलाई रोजगार बजारमा प्रवेश गराउनका लागि सक्षम, आत्मविश्वासी र प्रतिस्पर्धी बनाउन प्रत्यक्ष कार्य अनुभव र आर्थिक आत्मनिर्भरता प्रदान गरिने बताए । गैँडाकोटमै पहिलोपटक काठमाडौँ विश्वविद्यालय जस्तो प्रतिष्ठित संस्थाको बि.आई.टी. कार्यक्रम सञ्चालन गरिएको भन्दै सापकोटाले नेपालसहित अन्तर्राष्ट्रिय बजारमा अहिले दक्ष आईटी जनशक्तिको ठूलो माग रहेको उल्लेख गरे ।
‘विद्यार्थीहरू कलेजबाट निस्कँदा हातमा डिग्रीको प्रमाणपत्रसँगै बजारले खोजेको जनशक्ति, वास्तविक कार्य अनुभव र कर्पोरेट नेटवर्कसमेत लिएर निस्किउन् भन्ने चाहेका छौँ’ उनले भने, ‘यो कार्यक्रमले विद्यार्थीलाई अध्ययनकै क्रममा आर्थिक रूपमा आत्मनिर्भर बन्न सघाउनेछ ।’ बिआईटी अध्ययनकै क्रममा पाँचौँ सेमिस्टरमा पुगेपछि विद्यार्थीहरुले विभिन्न अन्तर्राष्ट्रिय आईटी कम्पनीमा इन्टर्नशीप गर्न पाउने सापकोटाको भनाइ छ ।
विद्यार्थीहरूलाई प्रयोगात्मक र रोजगारमुखी शिक्षा प्रदान गर्नका लागि कलेजले स्थापनाकै वर्ष दुईवटा अन्तर्राष्ट्रिय तथा आठवटा राष्ट्रिय प्रतिष्ठित आईटी कम्पनीहरूसँग द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिसकेको कलेजका शैक्षिक निर्देशक ई साहित बरालले बताए । यस सहकार्यअन्तर्गत विद्यार्थीहरूले अध्ययन अवधिसँगै सशुल्क इन्टर्नसिप, आंशिक रोजगारी, उद्योगमा आधारित प्रोजेक्टहरू र उद्योगका विज्ञहरूबाट प्रत्यक्ष मेन्टरसिप र करियर गाइडन्स पाउने बरालको भनाइ छ ।
बिआईटी कार्यक्रम विशेषगरी विज्ञान तथा गणित, कम्प्युटर साइन्स लिएर कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरुले अध्ययन गर्न पाउने बरालको भनाइ छ । यस कोर्षभित्र कृत्रिम बुद्धिमत्ता (एआई), मेसिन लर्निङ, साइबर सेक्युरिटी, क्लाउड कम्प्युटिङ, डाटा साइन्स, सफ्टवेयर डेभलपमेन्ट तथा मोबाइल एप्लिकेसन डेभलपमेन्ट जस्ता विश्व बजारमा अत्यधिक माग भएका अत्याधुनिक विषयहरू समावेश रहेका बरालको भनाइ छ ।
कलेजका प्रबन्ध निर्देशक सूर्य घिमिरेले कलेजमा अत्याधुनिक कम्प्युटर ल्याब, डिजिटल शिक्षण वातावरण र अनुभवी तथा दक्ष प्राध्यापकहरूद्वारा अध्यापनको व्यवस्था मिलाइएको बताए । बिहानी सत्रमा कक्षा सञ्चालन हुने भएकाले विद्यार्थीहरूलाई दिउँसोको समयमा उद्योगहरूमा काम गर्न वा इन्टर्नसिप गर्न सहज हुने भन्दै उनले जेहेन्दार, आर्थिक अवस्था कमजोर भएका तथा समावेशिताका आधारमा विद्यार्थीहरूलाई विभिन्न छात्रवृत्ति योजनाहरूसमेत उपलब्ध गराइने जानकारी दिए ।
कलेज सञ्चालनको अवसरमा यस वर्ष बिआईटी अध्ययन गर्न भर्ना हुने सबै विद्यार्थीलाई विश्वविद्यालयले तोकेको शुल्कमा २५ प्रतिशत छात्रवृत्ति प्रदान गरिने घिमिरेको भनाइ छ । यसबाहेक पनि थप १० प्रतिशत विद्यार्थीले पूर्ण छात्रवृत्ति पाउने जनाइएको छ ।





प्रतिकृया दिनुहोस्