नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–२ मा रहेको गैँडाकोट नमूना मावि/कलेजले कक्षा १२ मा नेपाल प्रथम भएका छात्र शीतल गौतमसहितका विद्यार्थीलाई सम्मान गरेको छ ।
विद्यालयले आज बिहान ‘द नेक्स्ट च्याप्टर’ कार्यक्रम गरी विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीलाई सम्मानित गरेको हो । गौतमले यस वर्षको कक्षा १२ को परीक्षामा ३.९६ जिपीए ल्याएर उत्तीर्ण गरेका थिए । गौतमसहितका उत्तीर्ण विद्यार्थीहरुलाई विद्यालयले पञ्चेबाजासहित सम्मान गरेको हो ।
विद्यालयका सहायक प्रिन्सिपल चन्द्र केसीकाअनुसार यस वर्ष विद्यालयबाट १२७ जना विद्यार्थीले कक्षा १२ उत्तीर्ण गरेका थिए । जसमध्ये १४ जना विद्यार्थीले ३.६० जिपीएभन्दा माथि प्राप्त गरेका केसीले लोकसूचना अनलाइनलाई बताउनुभयो । अन्य विद्यार्थीहरुलेसमेत उत्कृष्ट जिपीए प्राप्त गरी कक्षा १२ उत्तीर्ण हुन सफल भएका केसीले बताउनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै गैँडाकोट नमूना मावि/कलेज एवम् जी ग्रुपका प्रबन्ध निर्देशक इन्द्रप्रसाद रेग्मीले नमूना स्कुल लामो इतिहास बोकेको शैक्षिक संस्था भएको बताउनुभयो । विद्यालयले उत्कृष्ट नतिजा प्राप्त गर्नुमा विद्यार्थीसहित शिक्षक र अभिभावकको समेत महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ छ । यस नतिजालाई अझै वृद्धि गर्दै लैजाने उद्देश्यले विद्यालयले देशकै अत्याधुनिक हाइटेक शिक्षा प्रदान गर्नेगरी भवन निर्माण गरिरहेको उहाँले बताउनुभयो ।
विद्यालय भवनसँगै थप नयाँ र स्तरीय शैक्षिक कार्यक्रमहरु ल्याउने गरी आफूहरुले योजना बनाएको रेग्मीको भनाइ छ । “अबको केही वर्षमा यहिँबाट धेरै विषयमा उच्च शिक्षा प्रदान गर्नेगरी तयारी थालेका छौँ” उहाँले भन्नुभयो, “नमूनाको उद्देश्य भनेको शिक्षासँगै नैतिकवान, चरित्रवान र स्वस्थ नागरिक निर्माण गर्नु हो ।” विद्यालयले अत्याधुनिक चमेना गृह निर्माण गरिरहेको भन्दै उहाँले विद्यालयमा जङ्क फुड (पत्रु खाना) निषेध गरिने बताउनुभयो ।
कार्यक्रममा अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका प्रिन्सिपल प्रा डा ई हरि भण्डारीले नमूना माविलाई नमूनाकै रुपमा प्रस्तुत गर्दै उत्कृष्ट नतिजा प्राप्त गरेकोमा बधाई व्यक्त गर्नुभयो । उहाँले नमूना माविबाट नेपाल प्रथम भएका गौतमलाई आफ्नो कलेजमा स्नातक तहमा जुनकुनै विषय अध्ययन गर्न चाहे पनि १०० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने बताउनुभयो ।
“पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालित अक्सफोर्ड कलेजमा स्नातकतर्फ बिबिए, बिसिए, बिई, बिएचएमसहित धेरै शंकायमा अध्यापन भइरहेको छ” उहाँले भन्नुभयो, “नमूनाबाट नेपाल प्रथम हुनुभएका शीतल गौतमलाई जुनसुकै संकायमा पनि पूर्ण छात्रवृत्ति, दोस्रो हुने विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति, तेस्रो हुने विद्यार्थीलाई २५ प्रतिशत छात्रवृत्ति र नमूनाबाट उत्तीर्ण भएका सम्पूर्ण विद्यार्थीलाई २० प्रतिशत छात्रवृत्ति प्रदान गर्नेछु ।” कक्षा १२ उत्तीर्ण गरेर वैदेशिक अध्ययनको नाममा विदेश नजान आग्रह गर्दै उहाँले त्यसले विद्यार्थीको पढाइ बीचमै रोकिने बताउनुभयो ।
“सकेसम्म युवा जनशक्ति नेपालमै बसेर केही गर्नुपर्छ, विदेश जानै पर्ने भए पनि नेपालमा स्नातक उत्तीर्ण गरेर सीप सिकेर जानुहोला” उहाँले भन्नुभयो, “परिपक्व भएर सीप सिकेर गएपछि राम्रो आम्दानीसँगै सुरक्षित भविष्य निर्माणमा सहयोग पु¥याउँछ ।” उहाँले युवाहरु विदेशिन भन्दा पनि नेपाल निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा कक्षा १२ मा नेपाल प्रथम भएका छात्र शीतल गौतमले जिपिए मात्रै ठूलो कुरा नभएको भन्दै कडा मिहेनतले मात्रै जीवनमा सफलता प्राप्त हुने बताउनुभयो । “अहिले आएको धेरै जिपिएले भविष्य निर्माण गर्दैन” उहाँले भन्नुभयो, “हामीले हाम्रो काम सही रुपमा गर्दा मात्रै सफल भइन्छ ।”
कार्यक्रममा नमूना मावि/कलेजका सञ्चालक नारायण सापकोटा, लुम्बिनी आईसीटी कलेजका प्रतिनिधि श्रीकृष्ण न्यौपाने, शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्र राना, अभिभावक रुपा काफ्लेलगायतले विद्यार्थीहरुलाई बधाई दिनुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपककुमार लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारी प्रमुख अतिथि रहनुभएको थियो ।





प्रतिकृया दिनुहोस्