नवलपुर । सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक उन्नयनमा सहयोग पुर्याउने उद्देश्यलेलायन्स क्लब अफ नारायणगढ बालकुमारीले स्थापना गरेको ‘लायन्स क्लब अफ नारायणगढ बालकुमारी अक्षय कोष’बाट यसवर्ष पनि छात्रवृत्ति वितरण गरिएको छ।
तीन वर्षअघि लायन्स अन्तरराष्ट्रिय, डिष्ट्रिक्ट ३२५ आरबाट प्राप्त रु. ५० हजारको परियोजना फण्ड तथा क्लबका सदस्यहरूबाट संकलित रकमसमेत गरी रु. एक लाख ५१ हजार १११ को अक्षयकोष देवचुली नगरपालिका वडा नं. १२, गैंडीमा अवस्थित दिव्यज्योति आधारभूत विद्यालयमा स्थापना गरिएको थियो। उक्त कोषको उद्देश्य सामुदायिक तथा सरकारी विद्यालयमा अध्ययनरत गरिब, जेहेन्दार र मेहनती विद्यार्थीहरूको शिक्षामा निरन्तर सहयोग पुर्याउनु रहेको थियो। जुन क्लबले स्थापना कालदेखि आजसम्म निरन्तर गरिरहेको छ ।
अक्षय कोष स्थापना भएपछि विगत तीन वर्षदेखि कोषबाट प्राप्त ब्याज रकममार्फत विद्यालयका योग्य तथा आवश्यकतामा रहेका विद्यार्थीहरूलाई नियमित रूपमा छात्रवृत्ति प्रदान गर्दै आइएको छ भने उक्त कोषको आर्जित व्याजबाट यस अघि समेत करिब ३० हजार रुपैयाँ बराबरको छात्रवृत्ति रकम उक्त विद्यालयमा विरतण गरिसकेको थियो ।
यसै क्रममा, यस शैक्षिकसत्रमा अक्षय कोषबाट आर्जित ब्याज रकम रु. १६ हजार ४२२ बराबरको छात्रवृत्ति विद्यालयमा अध्ययनरत कक्षा ८ का आठ जना विद्यार्थीलाई वितरण गरिएको छ। हाल उक्त अक्षय कोषको कुल रकम बढेर रु. दुई लाख १० हजार पुगेको छ।
असार १२ गते आयोजित विशेष कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक मैनाकुमारी श्रेष्ठले छात्रवृत्ति वितरण गर्नुभएको थियो। कार्यक्रममा विद्यालय परिवार, लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। क्लबले आगामी दिनहरूमा पनि अक्षय कोषलाई थप विस्तार गर्दै अझ बढी विद्यार्थीलाई शैक्षिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।





प्रतिकृया दिनुहोस्