चितवन । सम्भवतः नेपालमै पहिलो पटक भएको दुई महिना लामो कोटिहोम महायज्ञ आइतबार सम्पन्न भएको छ । आइतबार पूर्णाहुती गरेपछि ऐतिहासिक कोटिहोम महायज्ञ सम्पन्न भएको हो । प्रारम्भिक विश्लेषण अनुसार महायज्ञ सम्पन्न गर्न डेढ करोड रुपैयाँ खर्च लागेको छ ।
भरतपुर–१ स्थित योगी नरहरिनाथ आश्रम वागीश्वरीमा गएको वैशाख १७ गतेदेखि श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञ भएको थियो । वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रमका पदाधिकारीको असहयोगका बाबजुद महायज्ञ सफल भएको आयोजकले जनाएको छ । योगी नरहरिनाथको संकल्पमा नाथ परम्परा अनुसार महायज्ञ गरिएको हो ।
महायज्ञमा गोरखनाथको बिजमन्त्रद्वारा सवा करोड पटक हवन गर्नुका साथै सहस्र चण्डी लगायतका विभिन्न यज्ञहरु पनि भए । महायज्ञको पुरै अवधि नै ज्योतिष पण्डित परशुराम पाण्डेयले कथावाचन गर्नुभयो । महायज्ञको मूलकर्ता प्रमेनिधि भारद्वाज हुन् । भारद्वाजले महायज्ञलाई ‘सात्विक महायज्ञ’ बनाउनुभयो । कुनै भक्तजन, संस्था वा समूहसँग रकम किटान गरेर आर्थिक सहयोग लिन इन्कार गर्नुभयो ।
भक्तजनले स्वःस्फुर्त रुपमा हवन सामग्री, खाद्यान्न, तरकारी तथा फलफूल र आर्थिक सहयोग गरे । राष्ट्र शान्ति, राष्ट्रको कल्याण, विश्व शान्ति र विश्वको कल्याणका लागि महायज्ञ आयोजना गरिएको हो । यसअघि वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रम र सनातन सांस्कृतिक सम्पदा संरक्षण संघको संयुक्त आयोजनामा महायज्ञ गरिएको बताइएको थियो ।
परिषद्का अध्यक्षलगायतका अधिकांश पदाधिकारीले महायज्ञलाई असहयोग गर्नुभयो । महायज्ञका संयोजकसमेत रहनुभएका भारद्वाजले योगी नरहरिनाथले २३ वर्षअगाडि गरेको संकल्पअनुसार महायज्ञ गरिएको बताउनुभयो । योगी नरहरिनाथले आफ्नो जीवनकालमा १२९ वटा महायज्ञ सम्पन्न गरेका थिए । १३०औँ महायज्ञ गर्ने उनको संकल्प थियो तर त्यो पूरा हुन पाएको थिएन ।
अन्ततः योगी नरहरिनाथको संकल्प पूरा भएको छ । महायज्ञबाट संकलन भएको रकम र महायज्ञ सञ्चालन गर्दा लागेको खर्चको विस्तृत विवरण केही दिनमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने भारद्वाजले जानकारी दिनुभयो । महायज्ञमा ब्राह्मणहरूबाट निरन्तर हवन, तर्पण र मार्जन लगायतका अनुष्ठान, अतिरुद्री, सहस्रचण्डी, ब्रह्म गायत्री मन्त्रद्वारा लक्षहवन, श्रीशिवमहापूराण, श्रीमद्भागवत महापुराण लगायतका महापुराणहरू पाठ गरिए ।
पुरुषोत्तम महात्म्य प्रवचन, हिमवत् खण्ड, शिखरिणी यात्रा लगायतका धार्मिक ग्रन्थहरूको पाठपरायण र गौकथा प्रवचन भयो भने पाँचसरे करिब पाँच करोड दीप प्रज्ज्वलन पनि गरिएको थियो ।





प्रतिकृया दिनुहोस्