चितवन, २० असार । चितवनका व्यवसायी एवम् भेटघाट रेष्टुरेन्टका सञ्चालक गोविन्दप्रसाद तिवारीको आत्मकथा ‘सङ्घर्ष र सफलता’ सार्वजनिक गरिएको छ ।
कास्कीको बेगनासमा जन्मिएर चितवनको नारायणघाटमा भेटघाट रेष्टुरेन्ट मार्फत पहिचान स्थापित गरेका तिवारीले आफ्नो आत्मकथाको रुपमा सङ्घर्ष र सफलता लोकार्पण गरेका हुन् । शनिबार नारायणघाटमा भव्यसमारोहकाबीच तिवारीको पुस्तक संविधानसभा सदस्य एवम् काँग्रेसका नेता प्रा डा सशाङ्क कोइरालासहितको व्यक्तिहरुले लोकार्पण गरेका हुन् ।
तिवारीको पुस्तकमाथि विमोचन गर्दै शिक्षाविद् ध्रुवराज पोखरेलले तास बेचेरै छोराछोरीलाई डाक्टर बनाएको प्रसङ्ग पुस्तकमा उल्लेख भएको भन्दै यो राज्यकै महत्वपूर्ण निधि भएको बताए । तिवारीको पन्ती पवित्रादेवी तिवारीको क्यान्सरकाकारण भएको पीडादायी निधनपछि सन्तानको हेरचाह गर्दै व्यवसायलाई अगाडि बढाउँदाको सङ्घर्ष, आर्थिक शङ्कट, ऋण, अभाव र व्यवसायिक सफलताबारे पुस्तक लेखिएको पोखरेलको भनाइ छ । ‘तिवारी कास्कीबाट काम गर्न चितवन झरेको सिलसिला किताबमा उल्लेख गरिएको छ’ उनले भने, ‘त्यसबेला साथीसँग बस्दै आउनुभएका तिवारी साथीहरु केही दिन कोठामा नआउँदा सात दिन भोकसँग सङ्घर्ष गर्नुपरेको कथा यहाँ उल्लेख छ ।’
खानेकुरा नभएपछि साथीहरुले छोडेर गएको नास्पती खाएर सात दिनसम्म बसेको विषय आत्मकथामा उल्लेख भएको पोखरेलले बताए । आफूले कक्षा ८ भन्दा बढी पढ्न नपाए पनि आफ्नो पढाइको सपना छोराछोरीलाई पढाएर पूरा गर्न पाउँदा सपना साकार भएको प्रसङ्ग पुस्तकमा उल्लेख गरेका पोखरेलले बताए । तिवारीको एक जना छोरी र एक जना छोरा डाक्टर तथा एक जना छोराले बाबुको व्यवसायलाई अगाडि बढाउँदै आएका छन् ।
पुस्तकबारे धारणा राख्दै शम्भुराज पाण्डेले जीवनको भोगाइमा धेरै अवरोध आए पनि त्यसबाट विचलित हुन नहुने विषयलाई पुस्तकमा जोड दिइएको बताए । आफूले टेकेको सिँढी कहिल्यै बिर्सनु हुँदैन भन्ने कुरा पुस्तकमा उल्लेख भएको भन्दै पाण्डेले जीवनमा चोट लाग्छ, लडिन्छ तर हार मान्नु हुँदैन भन्ने कुरालाई पुस्तकमा सुन्दर ढंगबाट प्रस्तुत गरिएको बताए । लामो सङ्घर्षका बीच तिवारीलाई सफल बनाउन सहयोग गरेको व्यवसायले चितवनमा ‘भेटघाटको तास’लाई ब्राण्डिङ गर्दाको कथासमेत पुस्तकमा समेटिएको उनको भनाइ छ ।
पुस्तक विमोचनमा शुभकामना दिँदै संविधानसभा सदस्य कोइरालाले हरेक मानिसको जीवन यात्रा फरक हुने बताए । सङ्घर्ष मेहनतले सफलता प्राप्त गर्न सकिन्छ भन्ने सन्देश पुस्तकले दिएको भन्दै सामाजिक विषयवस्तु, व्यवहारिक कठिनाइ र जीवनका चुनौतीलाई सामना गर्दै निरन्तरता अगाडि बढ्नु नै जीवन भएको उनले बताए ।
भेटघाट रेष्टुरेन्टले प्रकाशन गरेको पुस्तकको सम्पादन पत्रकारद्वय वीरेन्द्रमाणि पौडेल र सूर्यप्रकाश कँडेलले गरेका हुन् । दुई वटा खण्डमा विभाजन गरेर तयार पारिएको तिवारीको पुस्तक सङ्घर्ष र सफलताको मूल्य ५०१ रुपैयाँ राखिएको छ ।





प्रतिकृया दिनुहोस्