नवलपुर । आइतबारदेखि परेको अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा नौ घर विस्थापित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितकाअनुसार गैँडाकोट–४ डन चोकमा नौ घरपरिवार विस्थापित भएका छन् । सोमबार राति १० बजेतिर जङ्गलबार आएको बाढी र सडक छेउको नालीबाट आएको बाढीले नौ घरका ३५ जनालाई विस्थापित गराएको पण्डितले जानकारी दिनुभयो । घरमा बाढी पसेको सूचना आएपछि तत्काल सुरक्षाकर्मीहरुको समूहले उद्धार गरी छिमेकी तथा आफन्तको घरमा सुरक्षितरुपमा बस्ने अवस्था सिर्जना गरेको उहाँको भनाइ छ ।
त्यस्तैगरी, सोमबार राति नै आएको बाढीका कारण गैँडाकोट–१५ मा समेत दुई वटा घरमा बाढी पसेको छ । घरको तल्लो तलामा पसेको बाढीले २० क्विन्टलभन्दा बढी धान तथा लत्ता कपडा भिजेको भए पनि मानवीय क्षति नभएको पण्डितले बताउनुभयो । राति आएको बाढीका कारण जिल्लामा कुनै पनि मानवीय तथा पशुपक्षीको क्षति नभएको उहाँको भनाइ छ ।





प्रतिकृया दिनुहोस्