नवलपुर । चालु आर्थिक वर्ष २०८२/८३ मा नारायणी नदीमा साढे १० किलोमिटर तटबन्ध निर्माण गरिएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले यस वर्ष मात्रै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवनतर्फ गरी १० दशमलव पाँच किलोमिटर तटबन्ध निर्माण गरेको जनाएको छ ।
कार्यालयका सूचना अधिकारी इन्जिनियर सागर पौडेलकाअनुसार नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवन भएर बग्ने नारायणी नदीको चितवनतर्फ चार किलोमिटर र नवलपुरतर्फ ६ दशमलव पाँच किलोमिटर तटबन्धन यस वर्ष निर्माण गरिएको हो । “बहुवर्षीय तटबन्ध र यस वर्ष ठेक्का लागेको तटबन्धको गरी नारायणी नदीमा साढे १० किलोमिटर तटबन्ध निर्माण गरिएको छ” पौडेलले भन्नुभयो, “नारायणीमा तटबन्धका लागि मेस जाली, बिग बुल्डर (नदी किनारमा ठूला ढुङ्गा राखेर भिरालो बनाउने गरी गरिने तटबन्ध), कङ्क्रिट पर्कोपाइन (६ वटा पोललाई त्रिभुजाकार बनाएर त्यसभित्र जाली राखी ढुङ्गा र काठका टुक्राहरु राखेर कसेपछि नदीमा हालिने तटबन्ध) तथा कङ्क्रिट रिटेनिङ वाल तयार पारिएको छ ।”
बहुवर्षीय आयोजनाका रुपमा विगतका वर्षमा नै ठेक्का लागि तटबन्धको काम ढिला भइरहेको अवस्थामा यस वर्ष उल्लेखनीय प्रगति हासिल भएको पौडेलले बताउनुभयो । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) तर्फ ६ किलोमिटर क्षेत्रफलमा नारायणी नदी तटबन्धका लागि विसं २०७९ मा बहुवर्षीय ठेक्का लगाइएको थियो । गैँडाकोटको वडा नम्बर ५ देखि ९ सम्मको नदी किनारमा कङ्क्रिट ब्लकबाट तटबन्ध गर्नेगरी रु एक अर्ब नौ करोडमा ठेक्का सम्झौता भएको आयोजनाको प्रगति हालसम्म ९८ प्रतिशत पुगेको पौडेलले जानकारी दिनुभयो ।
“नवलपुरतर्फको यस स्थानमा गत कात्तिकसम्म जम्मा ४७ प्रतिशत मात्रै प्रगति भएको थियो, हाल काम सम्पन्न हुने चरणमा पुगेको छ” उहाँले भन्नुभयो, “नदी तटबन्धसँगै तटबन्धमाथि ६ मिटर फराकिलो बाटोसमेत निर्माण गरिएको छ ।” यस आयोजना अन्तर्गत करिब एक किलोमिटर बिग बुल्डर र बाँकी कङ्क्रिट ब्लकबाट तटबन्धको काम भइरहेको उहाँले जानकारी दिनुभयो । बिग बुल्डरको काम पूरा भएको भन्दै उहाँले कङ्क्रिट ब्लकबाट तटबन्धको काम थोरैमात्रै बाँकी रहेको बताउनुभयो ।
त्यस्तै, विनयी त्रिवेणी गाउँपालिकास्थित त्रिवेणी धाममा पर्ने गजेन्द्र मोक्ष दिव्य धाममा समेत कङ्क्रिट रिटेनिङ वाल निर्माणको काम भएको उहाँले जानकारी दिनुभयो । नारायणी नदीको कटानबाट गजेन्द्र मोक्ष दिव्य धामलाई सुरक्षित बनाउन लगाइएको यस वालको उचाइ सात मिटरसम्म रहेको पौडेलले बताउनुभयो । यो आयोजनाको काम रु दुई करोड १७ लाखमा निर्माण सम्पन्न भएको उहाँको भनाइ छ ।
सूचना अधिकारी इन्जिनियर पौडेलकाअनुसार नारायणी नदी तटबन्धका लागि चितवनतर्फ भरतपुरको वडा नम्बर २६ र २७ मा ५ दशमलव ६ किलोमिटर तटबन्ध गर्नेगरी विसं २०७९ मा सम्झौता भएको थियो । यस आयोजनाको प्रगति विसं २०८२ कात्तिकसम्म २४ प्रतिशत रहेकोमा हाल ८५ प्रतिशत प्रगति पुगेको पौडेलले जानकारी दिनुभयो । यो आयोजनाको ठेक्का रु ३७ करोडमा लगाइएको उहाँको भनाइ छ ।
“मध्यवर्ती क्षेत्रमा नदी नियन्त्रणका लागि ठेक्का लगाउँदा तटबन्धका लागि आवश्यक पर्ने ढुङ्गा झिक्न समस्या हुने गर्दथ्यो” उहाँले भन्नुभयो, “त्योसँगै भुक्तानी अभाव, निर्माण सामग्रीको अभाव र निर्माण व्यवसायीको तदारुकतामा कमी हुँदा निर्माणमा ढिलाइ हुँदै आएको थियो ।” त्यस्तै चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने स्थानमा पुस माघको समयमा गोहीले फुल पार्ने समय भएको भन्दै बगरबाट ढुङ्गा झिक्नका लागि निकुञ्जले रोक लगाउने गरेकाले पनि तटबन्ध निर्माणमा ढिलाइ हुने गरेको उहाँको भनाइ छ । अहिले तटबन्धका लागि काम जारी भएको अवस्थामा सहजरुपमा ढुङ्गा झिक्न पाउने व्यवस्था हुँदा एवम् कर्मचारी तथा निर्माण व्यवसायीको अग्रसरताले तटबन्धको कामले प्रगति पाएको उहाँको भनाइ छ ।
विगतका वर्षहरुमा आवश्यक पर्ने बिग बुल्डर पाउनै समस्या हुने गरेको भन्दै इन्जिनियर ढकालले यस वर्ष ३२ हजार घनमिटर बिग बुल्डर उत्खनन गरिएको जानकारी दिनुभयो । यस स्थानमा एक किलोमिटर लम्बाईमा कङ्क्रिट ब्लकबाट तटबन्ध हुनेछ भने अन्यत्र बिग बुल्डर प्रयोग गरेर तटबन्धको काम भइरहेको पौडेलले जानकारी दिनुभयो । भरतपुर–२८ को तामाङ टोलमा ६५० मिटर बिग बुल्डरसहितको तटबन्धको काम समेत सम्पन्न भएको सूचना अधिकारी पौडेलले बताउनुभयो ।





प्रतिकृया दिनुहोस्