AI सिर्जित तस्बिर
नवलपुर । नवलपुरमा गत आर्थिक वर्ष २०८२/०८३ मा जम्मा खर्च भएको पुँजीगत खर्चको साढे ३५ प्रतिशत रकम असारमा मात्र खर्च भएको पाइएको छ । विकास खर्चको नामले समेत चिनिने पुँजीगत खर्च जिल्लामा असार मसान्तसम्म एक अर्ब ७८ करोड २५ लाख ९१ हजार रुपैयाँ खर्च भएकोमा असार महिना मात्र ६३ करोड १९ लाख ३८ हजार रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को तथ्याङ्कमा उल्लेख गरिएको छ ।
कार्यालयका सूचना अधिकारी एवम् कोष नियन्त्रक जीतनारायण महतोका अनुसार अघिल्लो वर्ष भएको जेन–जी आन्दोलनका कारण जिल्लामा विकास योजनाका कामहरुको सम्झौता ढिला भएकाले पनि असारमा खर्च बढी भएको देखिएको हो । भदौमा भएको आन्दोलनका कारण विकासका कामको ठेक्का खोल्न ढिलाइ भएकोले काम सक्दा असार भेटेको महतोको भनाइ छ । उनका अनुसार जिल्लाको कुल पुँजीगत खर्च ६९ दशमलव ३७ प्रतिशत पुगेको छ । कार्यालयका सूचना अधिकारी एवम् कोष नियन्त्रक जीतनारायण महतोकाअनुसार जिल्लामा यस वर्षका लागि पुँजीगततर्फ दुई अर्ब ५६ करोड ९४ लाख २५ हजार रुपैयाँ बजेट प्राप्त भएको थियो ।
जिल्लामा रहेका सङ्घीय सरकार मातहतका कार्यालयमध्ये सबैभन्दा बढी विकास बजेट नारायणघाट बुटवल सडक योजना पूर्वीखण्ड कार्यालय गैँडाकोटले गरेको महतोले जानकारी दिए । यस कार्यालयले चालु खर्च र पुँजीगत खर्च गरी जम्मा एक अर्ब ६८ करोड ९४ लाख ५७ हजार रुपैयाँ खर्च गरेको महतोले बताए । कार्यालयले खर्च गरेको रकममध्ये पुँजीगत तर्फ एक अर्ब ६८ करोड ३८ लाख २४ हजार रुपैयाँ तथा चालु तर्फ ५६ लाख ३२ हजार रुपैयाँ रहेको महतोको भनाइ छ ।
त्यस्तै चालु खर्चतर्फ जिल्लामा यस वर्ष ९५ दशमलव ७८ प्रतिशत रकम खर्च भएको महतोले जानकारी दिए । उनकाअनुसार जिल्लाका लागि चालु खर्चतर्फ ६ अर्ब ९२ करोड ४० लाख ४० हजार रुपैयाँ बजेट विनियोजन भएकोमा असार मसान्तसम्ममा ६ अर्ब ६३ करोड २२ लाख ९९ हजार रुपैयाँ खर्च भएको छ । जिल्लामा पुँजीगत र चालु बजेट गरी कुल नौ अर्ब ४९ करोड ३४ लाख ६६ हजार रुपैयाँ बजेट प्राप्त भएकोमा एक वर्षको अवधिमा जम्मा आठ अर्ब ४१ करोड ४८ लाख ९० हजार रुपैयाँ खर्च भएको महतोले बताए ।
जिल्लामा आएको बजेटमध्ये पुँजीगत र चालु तर्फ गरी जम्मा ८८ दशमलव ६४ प्रतिशत बजेट खर्च हुन सफल भएको सूचना अधिकारी महतोले जानकारी दिए । नवलपुरका लागि विनियोजन भइ आएको रकममध्ये खर्च हुन नसकेको एक अर्ब सात करोड ८५ लाख ७५ रुपैयाँ बजेट फ्रिज भएको महताले जानकारी दिए ।





प्रतिकृया दिनुहोस्