नवलपुर । नवलपुरको देवचुली–१७ मा निर्माणाधीन ट्रमा सेन्टर निर्माणमा ढिलाइ भएको छ । निर्माण सुरु भएको एक वर्ष बितिसक्दा यहाँको भौतिक प्रगति जम्मा २५ प्रतिशत पुगेको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय भरतपुरले जनाएको छ ।
निर्माण सुरु भएको १८ महिनाभित्र काम सम्पन्न गर्नेगरी भरतपुुरको बि बि एस जेभीले विसं २०८२ असार ३० गते सम्झौता गरेको थियो । ट्रमा सेन्टरको साइट इन्जिनियर कृष्णप्रसाद सिंहकाअनुसार यस आयोजनाको म्याद आगामी पुस ३० गते सकिँदैछ । ट्रमा सेन्टरको हालसम्मको वित्तीय प्रगति भने १५ प्रतिशत मात्रै रहेको सिंहले जानकारी दिनुभयो ।
सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर द्रोणमानदेव कटुवालकाअनुसार देवचुलीमा १५ शय्याको ट्रमा सेन्टर निर्माण हुने गरी निर्माण व्यवसायीसँगै सम्झौता गरिएको थियो । सङ्घीय सरकारको रु १० करोड ३५ मा निर्माण हुने यस ट्रमा सेन्टर दुई तलाको रहने कटुवालले जानकारी दिनुभयो । हाल ट्रमा सेन्टर निर्माण अन्तर्गत डिपीसी र पिल्लरको काम सकिएर भुईँ तला ढलाको तयारी भइरहेको उहाँले बताउनुभयो ।
“भुईँ तलाको ढलानपछि भवनको वाल लगाउने तथा माथिल्लो तला थप्ने काम हुनेछ” उहाँले भन्नुभयो, “भुईँ तलामा बिरामी भर्ना गरी राख्ने शय्याका साथै एक्सरे, रेड जोन, ग्रीन जोनलगायतका क्षेत्रहरु रहेनछन् ।” भवनको माथिल्लो तलामा नर्स स्टेशन, कार्यालयको प्रशासन, बैठक हललगायत रहने कटुवालको भनाइ छ । एक हजार वर्गमिटर क्षेत्रफलमा निर्माण हुने यस ट्रमा सेन्टरले पूर्व पश्चिम राजमार्गमा हुने दुर्घटनाका घाइतेहरुको उपचार गर्ने उद्देश्य रहेको छ ।
साइट इन्जिनियर सिंहकाअनुसार ट्रमा सेन्टर निर्माणमा ढिलाइ हुनुको कारण महँगी बढ्नु भएको निर्माण व्यवसायीले बताउने गरेका छन् । पेट्रोलियम पदार्थको मूल्य वृद्धिले निर्माणमा आवश्यक पर्ने सम्पूर्ण सामग्रीको मूल्य बढ्दा निर्माण व्यवसायीले काममा ढिलाइ गरेका सिंहले बताउनुभयो ।





प्रतिकृया दिनुहोस्