नवलपुर । अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जितेको हो ।
स्पेनलाई उपाधि जिताउन फेरान टोरेसले गरेको गोल नै पर्याप्त बन्यो । टोरेसले खेलको १०६औं मिनेटमा स्पेनका लागि गोल गर्दै अग्रता दिलाएका थिए । टोरेसले पेनाल्टी बक्सभित्र बाउन्स भइरहेको बललाई आफ्नो देब्रे खुट्टाले प्रहार गर्दै क्रसबारको ठीक मुनिबाट जाली चुमाएका थिए ।
निर्धारित ९० मिनेटमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । निर्धारित समयको अन्तिम समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो । अतिरिक्त समयको दोस्रो हाफको सुरुआतमै स्पेनले अग्रता लिँदै उपाधि हात पार्यो ।
स्पेनले खेलको अधिकांश समय अर्जेन्टिनालाई दबाबमा राख्यो । स्पेनले सन् २०१० मा पछिल्लोपटक विश्वकपको उपाधि जितेको थियो । यसपटक फाइनलमा अर्जेन्टिनालाई हराउँदै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जित्न सफल भयो ।
स्पेनले यस प्रतियोगिताका आठ खेलहरूमा मात्र एक गोल ब्यहोऱ्यो, जसले कुनै पनि च्याम्पियन टोलीले सबैभन्दा कम गोल खाएको नयाँ विश्वकप कीर्तिमान कायम गरेको छ । स्पेन अहिले आफ्ना पछिल्ला ३८ खेलहरूमा अपराजित रहेको छ । जसमा २९ जित र ९ बराबरी भएका छन् । यो कुनै पनि युरोपेली टोलीले बनाएको इतिहासकै सबैभन्दा लामो अपराजित यात्रा हो ।
यसअघि इटालीले अक्टोबर २०१८ देखि सेप्टेम्बर २०२१ सम्म ३७ खेलहरू २८ जित, ९ बराबरीको कीर्तिमान बनाएको थियो । जसलाई स्पेनले नै तोडेको थियो । पछिल्लो दुई वर्षभन्दा बढी समयदेखि स्पेनलाई कसैले हराउन सकेको छैन ।
फाइनलमा पराजित भएसँगै अर्जेन्टिनाले लगातार विश्वकपको उपाधि जित्न सकेन । अर्जेन्टिनाले सन् २०२२ को विश्वकपको उपाधि जितेको थियो ।





प्रतिकृया दिनुहोस्