नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नेपालमै पहिलोपटक ‘विकू भर्चुअल कार्ड’ सुरुआत गरेको छ । आफ्ना सदस्यहरुलाई कार्ड विहीन कारोबार सेवा प्रदान गर्ने उद्देश्यले सहकारीहरुमध्ये विकूले नेपालमै पहिलोपटक यो सुविधा शुक्रबारदेखि ल्याएको हो ।
विकूका सूचना तथा प्रविधि विभाग प्रमुख सङ्केत कँडेलकाअनुसार मोबाइल बैंकिङ एपबाट चलाउन, कार्ड माग गर्न, नवीकरण गर्न, कार्ड ब्लक र अनब्लक गर्न तथा इकमर्स व्यवसायमा सहज भुक्तानी गर्न मिल्ने छ । अन्य बैंकका एससिटी नेटवर्कभित्रका एटिएम कार्डसमेत यस कार्डमा एड गर्न मिल्ने उहाँले बताउनुभयो । चाँडै नै विकूको एपबाट भारतमा क्यूआर भुक्तानी मिल्ने सुविधा सञ्चालनमा ल्याउन लागेको उहाँको भनाइ छ ।
विकूले ३६औँ वार्षिकोत्सवको अवसरमा सुरु गरिएको यस विकू भर्चुअल कार्ड एटिएम कार्डको विकल्पमा ल्याइएको विकूका अध्यक्ष प्रेमप्रसाद सापकोटाले जानकारी दिनुभयो । विकूले नेपालमै पहिलोपटक सहकारीहरुमध्ये अन्य बैंकमा रु एक लाख सम्म रकमान्तर गर्नमिल्ने सुविधा ल्याएको समेत सापकोटाको भनाइ छ । विकूलाई समय सापेक्ष परिवर्तन गर्दै लैजाने योजना रहेको सापकोटाले बताउनुभयो ।
३६ वर्ष अगाडि २६ जना सदस्यबाट सुरुआत भएको विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सदस्य सङ्ख्या एक लाख ३५ हजार नाघेका विकूको संस्थापक अध्यक्ष खेमराज सापकोटाले बताउनुभयो । उहाँकाअनुसार गैँडाकोटका २६ जना युवाहरुले दैनिक ५० पैसा रकम सङ्कलन गरेर सुरु गरेको सहकारी संस्थामा अहिले रु आठ अर्ब ८० करोड निक्षेप तथा रु ८१ करोड शेयर पुँजी पुगेको छ । नवलपरासी र चितवनमा २४ वटा शाखामार्फत कारोबार गर्दै आएको विकू सदस्य र कारोबारको हिसाबले नेपालकै दोस्रो ठूलो बचत तथा ऋण सहकारी संस्था भएको उहाँले बताउनुभयो ।
समाजमा व्याप्त गरिबी, अशिक्षा र कुलतबाट समुदायलाई मुक्त गरी बचत गर्ने बानीको विकास गराउने तथा सदस्यबाट संकललित बचतलाई सदस्यहरु भित्रै परिचालन गरि विभिन्न किसिमका सामाजिक उद्यमहरुको प्रवद्र्धन गर्नु विकूको मुख्य उद्देश्य रहेको विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक ओमप्रसाद सापकोटाले बताउनुभयो । विकूले २०५४ सालदेखि नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोबार गर्ने स्वीकृति प्राप्त गरि कारोबार गर्दै आएको थियो । अथक मेहनतको साथ वित्तीय, गैरवित्तीय तथा उच्च प्रविधियुक्त सेवा सहज र सर्वसुलभ तरिकाले प्रदान गर्दै विकू स्थानीयको पहिलो रोजाईसँगै नेपालको उत्कृष्ट सहकारी बनेको उहाँको भनाइ छ ।
विकूको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष लक्ष्मीराज उप्रेतीले नीति, विधि र प्रविधिमा सञ्चालन भएका सहकारी कहिल्यै पनि नडुब्ने बताउनुभयो । विकू नवलपुर क्षेत्रको मात्र नभएर नेपालकै उत्कृष्ट सहकारी भएकाले यो सहकारी अध्ययनको धलो बन्दै गएको उप्रेतीको भनाइ छ । सहकारीको वार्षिकोत्सवको अवसरमा उत्कृष्ट कर्मचारी, सेवाग्राहीहरुलाई सम्मान गरिएको थियो । रासस





प्रतिकृया दिनुहोस्