नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका मातहतका सबै कार्यालय आफ्नै भवनमा सञ्चालनमा आएका छन् । भाडाको घरबाट सञ्चालनमा आएका कार्यालयहरु आफ्नै तथा सामुदायिक भवनबाट सञ्चालनमा आएका हुन् ।
गैँडाकोट नगरपालिकाको पूर्वाधार समितिका संयोजक प्रेम सापकोटाकाअनुसार गैँडाकोट नगरपालिकामा सञ्चालित वडा कार्यालय र स्वास्थ्य संस्थाहरु आफ्नै भवनबाट सञ्चालनमा आएका हुन् । पछिल्लो समय वडा नम्बर ५ को भवन शिलान्यास गरिएको सापकोटाले बताए । नगरपालिकाको भवनबाट वडा कार्यालयको सेवा प्रवाह जारी राख्दै वडा कार्यालयको शिलान्यास गरिएको छ ।
वडा कार्यालयको शिलान्यास गर्दै नगरप्रमुख मदनभक्त अधिकारीले तोकिएको समयमै भवन निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई ध्यानाकर्षण गराउनुभयो । आफूहरुको यस कार्यकालको अन्तिममा भए पनि पालिका मातहतका कार्यालयहरुलाई भाडाको घरबाट सेवा प्रवाह गर्नुपर्ने अवस्थाको अन्त्य गरिएको उहाँको भनाइ छ । आफ्नै भवनबाट सेवा प्रवाह हुँदा नागरिकका काम सहजरुपमा सम्पन्न गर्न सकिने उहाँले बताउनुभयो ।
आगामी मङ्सिर मसान्तसम्म निर्माण सम्पन्न गर्नेगरी सूर्योदय निर्माण सेवा प्रालि काठमाडौँले रु ८८ लाख ७३ हजारमा ठेक्का सम्झौता गरेको हो । आरसिसि स्ट्रक्चरमा २०८ वर्ग मिटर क्षेत्रफलमा निर्माण हुने एक तले भवनमा सात वटा कोठाहरु रहने पालिकाका इन्जिनियर विजय न्यौपानेले जानकारी दिनुभयो । भूकम्प प्रतिरोधी भवनको गुणस्तरमा कुनै पनि सम्झौता नगरी समयमै निर्माण सम्पन्न गर्न आफूहरुको प्रत्यक्ष निगरानी रहने न्यौपानेले बताउनुभयो ।
गैँडाकोट नगरपालिकाका सूचना अधिकारी लिलाधर शर्माले गैँडाकोट १ र २ को वडा कार्यालय निर्माण सम्पन्न भएर सर्ने तयारीमा रहेको जानकारी दिनुभयो । त्यस्तै वडा नम्बर ८ र १८ मा पालिकाको नाममा जग्गा नहुँदा आफ्नै भवनमा वडा कार्यालय नभए पनि सामुदायिक भवनबाट सेवा प्रवाह भइरहेको उहाँले बताउनुभयो । सामुदायिक भनवमा कार्यालय सञ्चलनवापत घरभाडा तिर्नुनपर्ने उहाँको भनाइ छ । बाँकी वडा कार्यालयहरुले केही पुराना र केही नयाँ भवनबाट सेवा प्रवाह गरिरहेका भन्दै उहाँले वडा कार्यालयसँगै स्वास्थ्य संस्था पनि आफ्नै भवनमा सञ्चालनमा रहेका बताउनुभयो ।





प्रतिकृया दिनुहोस्