नवलपुर । कर्णाली प्रदेशको जुम्लामा उत्पादन भएको स्याउमा नवलपुरका उपभोक्ताहरूको आकर्षण देखिएको छ । जुम्लाको चन्दननाथ नगरपालिका–१० का किसान लोकेन्द्र महतले आफ्नो बगानबाट आज बिहान नवलपुरको गैँडाकोट–५ मा लिएर आउनुभएको ‘रेड’ स्याउ खरिदका लागि उपभोक्ताहरुको आकर्षण देखिएको हो ।
महतले परिक्षणका लागि पहिलो चरणमा ६ टन स्याउ ल्याएको भन्दै स्थानीय उपभोक्ताको माग र आकर्षणका लागि थप स्याउ ल्याउने तयारी गरेको बताउनुभयो । “गैँडाकोटमा ल्याएको जुम्लाको स्याउलाई यहाँका उपभोक्ताले असाध्यै मन पराउनुभएको छ” उहाँले भन्नुभयो, “स्थानीयसँगै पूर्वपश्चिम राजमार्ग भएर सवार यात्रुहरुसमेत स्याउ देखेर पसलमा आउनुभएको छ ।” जुम्लामा पहिलो चरणमा स्याउ टिप्न सुरु भएकाले परीक्षणका लागि नवलपुर लिएर आएको उहाँको भनाइ छ ।
भदौको पहिलो साताबाट असोजको अन्तिम सातासम्म जुम्लामा रेड जातको स्याउ टिप्न मिल्ने महतको भनाइ छ । “बजारमा बुझ्दा उपभोक्ताले नेपाली स्याउ खोज्ने गरेको जानकारी पाएपछि मैले आफ्नै बगानको स्याउ यहाँ लिएर आएको हो” उहाँले भन्नुभयो, “उपभोक्ताको मागका कारण आफ्नो सहित अन्य छिमेकी किसानको बगानबाट समेत स्याउ ल्याउने हौसला आएको छ ।” महतले बगानबाट टिपेको स्याउ ग्रेडिङ नगरी सिधै बिक्रीका लागि लिएर आएको भन्दै उपभोक्तालाई बढीमा प्रति किलो रु १७५ मा उपलब्ध गराएको जानकारी दिनुभयो । कार्टुन लैजाने व्यापारीलाई भने त्यो मूल्यमा सहुलियत हुने उहाँको भनाइ छ ।
नेपाली स्याउ हेर्दा आकर्षक नदेखिए पनि अति नै स्वादिष्ट हुने गरेको स्थानीय उपभोक्ता प्रकाश भण्डारीले बताउनुभयो । “बजारमा नेपाली स्याउ भनेर झुक्याउँदै विदेशी स्याउ बिक्री बिक्री गर्ने गरेको भेटिन्थ्यो, जसमा स्वाद नै हुँदैनथ्यो” उहाँले भन्नुभयो, “अहिले दैलोमा नै नेपाली स्याउ खान पाइएको छ, जुम्लाका स्याउ अति नै स्वादिला छन् ।” जुम्लाका स्याउ नेपाली उत्पादन भएर मात्रै नभइ स्वाद र गुणस्तरका कारण पनि खरिद गर्न आएको उहाँले बताउनुभयो ।
बजार जाँदा नेपाली स्याउ खोजी गर्ने गरेको भए पनि पाउनै मुस्किल हुने गरेकोमा गैँडाकोटमा नै उपलब्ध हुँदा सहज भएको स्थानीय युवराज क्षेत्रीले बताउनुभयो । “विषादीरहित नेपाली स्याउले नेपाली पैसा बाहिर जान रोक्दै हामीलाई स्वस्थ बन्न पनि मद्दत गर्ने गरेको छ” क्षेत्रीले भन्नुभयो, “मैले प्रायः नेपाली स्याउ नै किनेर खाने गरेको छु ।” नेपाली उत्पादन प्रयोग गर्दा किसानहरुलाई पनि हौसला हुने र यसले आर्थिक क्षेत्रलाई चलायमान बनाउने उहाँको बुझाइ छ ।
लोकेन्द्रले गैँडाकोटम जुम्लाको स्याउ ल्याएको थाहा पाएपछि स्थानीय व्यापारीसमेत स्याउ खरिद गर्न पुगेका छन् । गैँडाकोट पुलचोकमा फलफूल पसल सञ्चालन गर्दै आउनुभएकी अस्मिता थापाले पसलमा आउने उपभोक्ताहरुले पछिल्लो समय नेपाली स्याउ खोज्ने गरेका बताउनुभयो । “विदेशी स्याउ भन्दा सस्तो र मिठो पनि हुने भएपछि उपभोक्ताहरुले नेपाली स्याउ खोज्ने गर्नुभएको छ” उहाँले भन्नुभयो, “यसअघि चितवनको फलफूल मण्डीमा गएर स्याउ ल्याउने गरेकोमा त्यो भन्दा सस्तो मूल्यमा गैँडाकोटबाटै खरिद गर्न पाएँ ।”
आफूले सस्तोमा स्याउ खरिद गर्न पाएपछि उपभोक्तालाई पनि केही राहत मिल्ने उहाँको भनाइ छ । किसानले उत्पादन गरेको स्याउ सिधै उपभोक्ता समक्ष आउँदा सस्तो मूल्य र ताजा अवस्थामा आइपुगेको स्थानीयको भनाइ छ ।





प्रतिकृया दिनुहोस्