नवलपुर । नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा स्मरण क्षमता विकास (माइन्ड टेक्नोलोजी) सम्बन्धि कार्यशाला सम्पन्न भएको छ । कलेजको आयोजनामा अक्सफोर्ड कलेज र यससँग जोडिएका अन्य विद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारीहरुलाई लक्षित गरी प्रशिक्षण दिइएको हो ।
गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारीमा रहनुभएका एल्सस गिरीले प्रशिक्षण दिनुभएको हो । शब्द तथा वाक्यहरुलाई कसरी स्मरण गर्ने र लामो समयसम्म कसरी सम्झिने भन्ने विषयमा गिरीले प्रशिक्षण दिनुभएको थियो ।
उहाँले दायाँ मस्तिष्कको प्रयोग गरेर शब्दहरुलाई चित्रमा प्रस्तुत गर्दै स्मरण गर्न सकिने भन्दै सहभागीहरुलाई प्रशिक्षण दिनुभयो । गिरीले प्रयोगात्मक रुपमा स्मरण गर्ने विधिबारे सहभागीहरुलाई अभ्यास गराउँदै दायाँ दिमागलाई सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कलेजका प्रिन्सिपल प्राध्यापक डाक्टर इन्जिनियर हरि भण्डारीले ‘माइन्ड टेक्नोलोजी’ कार्यक्रम शिक्षण पेसामा आबद्ध व्यक्तिहरुका लागि अति नै प्रभावकारी हुने बताउनुभयो । शिक्षण पेसामा रहने व्यक्तिहरुले शिक्षण अभ्यास गर्दा नयाँ तरिकाबाट र विद्यार्थीहरुले सहज रुपमा बुझ्ने तरिकाले गर्नुपर्ने भन्दै एक दिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रमको सहजीकरण गर्नुभएका कलेजका भाइस प्रिन्सिपल कृष्णहरि पौडेलले सकारात्मक सोच र आत्मबलले व्यक्तिलाई हरेक कुरा सम्भव बनाउन सघाउने बताउनुभयो । प्रशिक्षण कार्यक्रममा दुई सय जना भन्दा बढी प्राध्यापक, शिक्षक तथा कर्मचारीहरुको सहभागिता रहेको कलेजका सूचना अधिकारी दीपक पराजुलीले जानकारी दिनुभयो ।





प्रतिकृया दिनुहोस्