AI सिर्जित तस्बिर ।
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीमा ट्रकको ठक्करबाट करिब १७ महिनाकी बालिकाको मृत्यु भएको छ ।
कावासोती नगरपालिका–८ फलफूलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा आज साँझ ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार आज साँझ करिब ७ बजे बाटो क्रस गर्दै गरेको लु ७० प ८२८४ नम्बरको मोटरसाइकललाई भैरहवाबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ०१–०२–००१ ख ८०७७ नम्बरको ट्रकले ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार कावासोती नगरपालिका–११ कुडौली बस्ने २५ वर्षीया पुष्पा चौहान घाइते भएकी छिन् । बाहिरी चोट नदेखिए पनि दुर्घटनापछि बेहोस भएकी चौहानलाई उपचारका लागि कावासोतीस्थित नवलपुर अस्पताल लगिएको थियो ।
प्राथमिक उपचारपछि त्यहाँबाट थप उपचारका लागि उनलाई चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पताल पठाइएको पण्डितले जानकारी दिनुभयो । चौहानसँगै मोटरसाइकलको पछाडि सवार १७ महिनाकी बालिका पनि दुर्घटनामा घाइते भएकी थिइन् । नामथर खुल्न बाँकी रहेकी बालिकालाई उपचारका लागि डण्डामा रहेको मध्यबिन्दु प्रादेशिक अस्पताल लगिएको थियो । उपचारका क्रममा साँझ ७ः०५ बजे चिकित्सकले बालिकालाई मृत घोषणा गरेका पण्डितले जानकारी दिनुभयो ।
मोटरसाइकल चालक अर्घाखाँची घर भई हाल कावासोती–११ कुडौली बस्ने ३२ वर्षीय सूर्य बिसी रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि प्रहरीले दुवै सवारीसाधन र ट्रक चालक बाराको सिमरा उपमहानगरपालिका–१४ बस्ने करिब ३० वर्षीय सौरभ खतिवडालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पण्डितले जानकारी दिनुभयो ।





प्रतिकृया दिनुहोस्