नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिकाले शुक्रबार पालिकाभित्रका सम्पूर्ण संस्थागत तथा सामुदायिक विद्यालयमा सार्वजनिक बिदा दिएको छ । विपद् जोखिमलाई मध्यनजर गर्दै विशेष सावधानी अपनाउन भन्दै पालिकाले शुक्रबार सम्पूर्ण विद्यालयलाई सार्वजनिक बिदा दिएको हो ।
गैँडाकोट नगरपालिकाका नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यद्वारा बिहीबार जारी विज्ञप्तीमा भनिएको छ, ‘प्रस्तुत विषयमा नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालयको मिति २०८३।०६।०७ को सूचना अनुसार नेपालका विभिन्न स्थानमा भारी वर्षा देखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात तथा हावाहुरी र चट्याङ पर्ने सम्भावना रहेको जानकारी जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित क्षेत्रका विज्ञहरूबाट पूर्वानुमान भएको छ ।’
विज्ञप्तीमा अगाडि लेखिएको छ, ‘तसर्थ यस अवधिलाई त्रासभन्दा पनि पूर्वतयारीसहित सावधानीमा उपयोग गर्नु बुद्धिपूर्ण रहने हुनाले सार्वजनिक विदाका सम्बन्धमा आवश्यकतानुसार विद्यालय विदा गर्न गराउन सार्वजनिक सूचना गरिएको सन्दर्भमा सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै यस नगरपालिका अन्तर्गतका सबै विद्यार्थी एवम् बालवालिका, शिक्षक तथा कर्मचारी सुरक्षित रहन र हिउँदे विदाबाट कट्टी हुनेगरी मिति २०८३।०६।०९ गते शुक्रबारका दिन सबै सार्वजनिक शिक्षण संस्थाहरुमा सार्वजनिक विदा गरिएको व्यहोरा निर्देशनानुसार अनुरोध छ ।’





प्रतिकृया दिनुहोस्