AI सिर्जित तस्बिर
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु पछिल्लो दुई महिनामा जनावरको टोकाइबाट दुई हजार भन्दा बढी नागरिक घाइते भएका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का अनुसार साउन र भदौमा गरी जिल्लामा दुई हजार ७७ जनालाई जनावरले टोकेको हो ।
कार्यालय प्रमुख एवम् जनस्वास्थ्य प्रशासक केशवप्रसाद चापागाईकाअनुसार जिल्लामा कुकुर, बिरालो, बाँदर, स्याललगायतका जनावरले टोकेर मानिस घाइते हुने गरेका छन् । जिल्लामा सबैभन्दा धेरै कावासोती नगरपालिकामा एक हजार ५५१ जनालाई जनावरले टोकेको चापागाईले बताउनुभयो । त्यस्तै, देवचुली नगरपालिकामा ३१२, विनयी त्रिवेणी गाउँपालिकामा १६४, गैँडाकोट नगरपालिकामा २९, बुलिङटार गाउँपालिकामा १२, बौदिकाली गाउँपालिकामा पाँच तथा मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकामा दुई÷दुई जनालाई जनावरले टोकेको उहाँको भनाइ छ ।
जिल्लामा बर्सेनि १० हजार भन्दा बढी नागरिक जनावरको टोकाइबाट घाइते हुने गरेका चापागाईले जानकारी दिनुभयो । जिल्लामा पर्याप्त मात्रामा रेबिजविरुद्धको भ्याक्सिन रहेकाले जनावरको टोकाइबाट घाइते भएका बिरामी पूर्णरुपमा निको हुने गरेका उहाँको भनाइ छ ।
त्यस्तैगरी, पछिल्लो दुई महिनामा जिल्लामा सर्पदंशका बिरामी २७७ जना पुगेका छन् । जिल्लामा सर्पदंशका बिरामीमध्ये सबैभन्दा धेरै कावासोती नगरपालिकामा १७४ जना रहेका छन् । त्यस्तै, विनयी त्रिवेणी गाउँपालिकामा ८३, देवचुली नगरपालिकामा १०, बौदिकाली गाउँपालिकामा ८ तथा बुलिङटार गाउँपालिकामा दुई जना सर्पदंशबाट बिरामी भएका चापागाईले बताउनुभयो ।
जिल्लाको मध्यविन्दु प्रादेशिक अस्पतालसहित विभिन्न स्वास्थ्य संस्थाहरुमा सर्पदंशका बिरामीको उपचार हुने गरेको उहाँले जानकारी दिनुभयो । “सर्पदंशका बिरामीमध्ये आईसीयु (सघन उपचार कक्ष) आवश्यक पर्ने बिरामीलाई चितवन पठाइने गरेको छ” उहाँले भन्नुभयो, “अन्य बिरामीको उपचार भने जिल्लाका स्वास्थ्य संस्थाहरुमा हुने गरेको छ ।” जिल्लामा गोमन, करेत, भाइपर, राजगोमन प्रजातिका विषालु सर्पहरु पाइने गरेको उहाँले बताउनुभयो ।





प्रतिकृया दिनुहोस्