नवलपुर । असोज ८ गते साँझदेखि परेको अविलर वर्षाका कारण नारायणी नदीमा बाढी आएको छ । नदीमा पानीको बहाब बढी हुँदा नदीको बाढी बस्तीमा पस्ने जोखिम बढेपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।
जिल्लाको गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले नदी तटीय क्षेत्रका नगरवासीलाई सुरक्षित स्थानमा सारिएको बताउनुभयो । गैँडाकोटको वडा नम्बर २, ५, ६, ७ र ९ नम्बर वडा नदी तटीय क्षेत्रमा पर्ने भन्दै अधिकारीले नदी प्रभावितहरुलाई झटपट झोलासहित सुरक्षित स्थानमा जान आग्रह गरिएको बताउनुभयो ।
गैँडाकोट–२ का वडाध्यक्ष प्रकाश सापकोटाले गैँडाकोट पुलचोकका बासिन्दाहरुलाई माथिल्लो स्थानमा सारिएको भन्दै नदी किनारमा माइकिङ समेत भइरहेको बताउनुभयो । नदीमा पानीको बहाब निरन्तर बढिरहेको भन्दै उहाँले नदी किनारमा नजान तथा आफ्नो घरबाट सुरक्षित स्थानमा लैजानका लागि वडाले सहजीकरण गरेको जानकारी दिनुभयो ।





प्रतिकृया दिनुहोस्