नवलपुर । यसवर्ष असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्ष यताकै सबैभन्दा ठूलो बाढी आयो । विगतका वर्षहरुमा अहिलेको भन्दा सानो बाढी आउँदा पनि गैँडाकोटका धेरै बस्ती डुबान र कटानको समस्यामा पर्ने गरेका थिए । यद्यपि यसपटक इतिहासमै ठूलो बाढी आउँदा पनि धेरै बस्ती जोगियो ।
इतिहासकै ठूलो बाढी आउँदा पनि यसपटक गैँडाकोटको वडा नम्बर २ को एउटा बस्तीबाहेक अन्य वडामा बाढीले कुनै क्षति पु¥याउन नसकेको स्थानीय बताउँछन् । नारायणी नदीमा निर्माण भएको पुलभन्दा उत्तरतर्फ नदीकिनारमा तटबन्ध नहुँदा एउटा बस्ती डुबानमा परेको भए पनि पुलबाट दक्षिणतर्फ गरिएको करिब पाँच किलोमिटर तटबन्धले अन्य बस्ती जोगाउन सफल भएको स्थानीयको बुझाइ छ । गैँडाकोटका मनोज परियारले नदी किनारमा ठूला ठूला ढुङ्गा राखेर गरिएको तटबन्धबाट नदी किनारको बस्ती जोगिएको बताउनुभयो ।
“नदी किनारमा ठूला ठूला ढुङ्गा राखिएको छ, जसले हामीलाई जोगायो” उहाँले भन्नुभयो, “ढुङ्गा नाघेर नदीको छाल घरसम्म आएको थियो, यो ढुङ्गा नहालेको भए हाम्रो धेरै क्षति हुने थियो ।” बर्सेनि नारायणी नदीमा आउने बाढीले कटान गर्ने क्षेत्रमा निर्माण गरिएको तटबन्धका कारण नदीको कटान रोकिएको परियारको बुझाइ छ । बाढी आउँदा जोखिमपूर्ण अवस्थामा रहने नदी किनारका बस्ती तथा खेतीयोग्य जमिन सुरक्षित पार्न गरिएको तटबन्धले जिल्लाका धेरै बस्ती जोगाएको छ ।
“अघिल्ला वर्षहरुमा नारायणी नदीमा बाढी आउँदा हामी किनारका बासिन्दाहरु सुरक्षित ठाउँ खोजेर हिँड्नुपर्ने अवस्था थियो” गैँडाकोट–६ का ४१ वर्षीय राजेन्द्र थापाले भन्नुभयो, “यस वर्ष नारायणीमा ठूलो बाढी आए पनि हामी ढुक्कसँग घरमै बस्न सक्यौँ ।” बर्सेनि नारायणी नदीमा बाढी आउँदा कटान हुने आफ्नो वडामा नदी व्यवस्थापनको काम भएपछि नदीको कटान रोकिँदा आफूहरु ढुक्क भएर बस्न पाएको थापाले बताउनुभयो । सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालय चितवनले आर्थिक वर्ष २०८२÷०८३ मा नवलपुरतर्फ नदी किनारमा व्यवस्थित तटबन्ध निर्माण गरेपछि बाढीबाट हुने कटान रोकिएको हो ।
नदीमा बाढी आउँदा रातभर सुत्न नसकिने गरेको घटना स्मरण गर्दै स्थानीय खगीसरा रानाले नदी व्यवस्थापनको काम भएपछि ढुक्कसँग बस्ने गरेको बताउनुभयो । गत वर्षदेखि यस क्षेत्रमा नारायणी नदीको कटान पूर्णरुपमा रोकिएको रानाले बताउनुभयो । नारायणी नदीमा विगतका वर्षमा आएको बाढीले बर्सेनि यहाँको धेरै खेतीयोग्य जमिन बगरमा परिणत गर्दै मानिसको उठिबास लगाएको उहाँले बताउनुभयो ।
“नारायणीमा आएको बाढीले मेरो पनि नदी किनारमा भएको जग्गा लगभग काटेर सक्यो” नारायणीको किनारमा बस्तीभन्दा अग्लो पारेर गरिएको तटबन्ध देखाउँदै उहाँले भन्नुभयो, “पोहोर साल सरकारले यो ड्याम नबनाएको भए सायद म पनि घरबारविहीन हुने अवस्था आउँथ्यो होला ।” अबका दिनहरुमा नदी किनारका बासिन्दाहरु डराउनुपर्ने अवस्थाको अन्त्य जस्तै भएको रानाको भनाइ छ । नदी कटान नियन्त्रण रोकिएपछि आफूहरुको आधा चिन्ता सकिएको उहाँले बताउनुभयो ।
नारायणी नदीको पुलबाट दक्षिणतर्फ नदी किनारमा गैँडाकोटको वडा नम्बर २, ५, ६, ७ र ९ नम्बर वडाको भूभाग पर्दछ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले नदी किनारमा बहुवर्षीय ठेक्का लगाएर व्यवस्थित तटबन्धको काम सम्पन्न गरेको छ । कार्यालयले करिब एक हजार ५०० मिटर बिग बोल्डर तथा करिब पाँच किलोमिटरमा क्रङ्क्रिट तटबन्ध गरेको गैँडाकोट नगरपालिका वडा नम्बर–६ का वडाध्यक्ष शुभाष चापागाईले बताउनुभयो ।
“नदी किनारलाई भिरालो बनाउँदै गरिएको पक्की तटबन्धका कारण बस्ती जोगिन सफल भएको हो” उहाँले भन्नुभयो, “गैँडाकोटमा गरिएको तटबन्ध नेपालकै नौलो र नयाँ प्रयोग भएको मैले जानकारी पाएको छु ।” बस्तीभन्दा अग्लो पारेर गरिएको तटबन्धका कारण ठूलो बाढीले पनि बस्तीमा कुनै क्षति पु¥याउन नसकेको उहाँले बताउनुभयो । यद्यपि कङ्क्रिट तटबन्ध गरिएको केही स्थानमा बाढीले क्षति पु¥याएको भन्दै त्यसलाई व्यवस्थित रुपमा मर्मत गर्नुपर्ने चापागाईको भनाइ छ ।
यस वर्षको असोज ११ गते नारायणी नदीमा पानीको सतह बढेर सबैभन्दा उच्च ११ दशमलव ९३ मिटर पुगेको जल मापन केन्द्र देवघाटले जनाएको छ । नारायणी नदी किनारमा गरिएको तटबन्ध बस्तीभन्दा पनि अग्लो भएका कारण बस्तीमा हुने डुबान र कटानबाट गैँडाकोटका नदी तटीय वडाहरु जोगिएका हुन् ।





प्रतिकृया दिनुहोस्