नवलपुर, १७ असोज । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) दाउन्नेमा आज बिहान भएको दुर्घटनामा परी ज्यान गुमाउनेमध्ये पाँच जनाको पहिचान खुलेको छ ।
१८ जना यात्रु लिएर नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको यात्रुवाहक बस विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा पल्टिएको थियो । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितकाअनुसार बसमा सवार १८ जनामध्ये ६ जनाको मृत्यु, १० जना घाइते तथा दुई जना सकुसल रहेका छन् ।
दुर्घटनामा परी मृत्यु भएकाहरुमध्ये जाजरकोटको भेरिगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ गुरुङ, बाँकेको कोहलपुर नगरपालिका–३ का ३२ वर्षीय दीपेन्द्र केसी, कोहलपुर–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी, नेपालगञ्ज उपमहानगरपालिका–७ का २२ वर्षीय कृष कनौजिया, बाजुराको स्वामीकार्तिक गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरीको पहिचान खुलेको पण्डितले जानकारी दिनुभयो । त्यस्तै मृतकमध्ये एकजना करिब ४० वर्षीय पुरुषको पहिचान खुल्न बाँकी रहेको उहाँले बताउनुभयो ।
बसमा च्यापिएर घाइते भएका यात्रुमध्ये नौ जनाको स्थानीय मध्यविन्दु प्रोदेशिक अस्पताल डण्डा र एक जना घाइतेको गम्भीर अवस्थामा चितवनको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ का ४८ वर्षीय अस्लाम भगवानको टाउकोमा चोट लागेका कारण उनको चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा गम्भीर अवस्थामा उपचार भइरहेको पण्डितले बताउनुभयो । त्यस्तै, मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेका घाइतेहरुमा गोरखाको गोरखा–९ का ३० वर्षीय हरिशरण थापा, अछामको मङ्गलसेन–६ का २८ वर्षीय तेजेन्द्रप्रसाद भण्डारी, बर्दियाको ठाकुरबाबा–१ की २० वर्षीया आकृती थारु, बाजुराको स्वार्मी कार्तिक–५ का ३२ वर्षीय पवन बुढा, स्वामी कार्तिक–१ का २५ वर्षीय प्रेम बम, बर्दियाको राजापुर–९ का २८ वर्षीय सञ्जय थारु, बाँसगढी–७ का ३६ वर्षीय लालबहादुर कार्की, ललितपुरको कुञ्जय सोमपाक–५ का २९ वर्षीय अनोज खत्री र सल्यानको वनगढ कुपिण्डे–१ का २१ वर्षीय अनिल बुढाथोकी रहेका पण्डितको भनाइ छ । बसमा सवार दुई जना यात्रु भने सकुसल रहेका उहाँले बताउनुभयो ।





प्रतिकृया दिनुहोस्