चितवन । बिलबिजकविना मोबाइल बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले चितवनबाट दिपक मोबाइल पसलका सञ्चालक दिपक पर्साई र अर्का एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुसन यादवका अनुसार भरतपुर महानगरपालिका–१० र १ मा सञ्चालन गरिएको दिपक मोबाइल पसलबाट बिलबिजकविनाका मोबाइल बिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले पसलमा छापा मारेको थियो। प्रहरीले भरतपुर–१० बस्ने ४१ वर्षीय दिपक प्रसाईँलाई नियन्त्रणमा लिई उनको पसलबाट विभिन्न कम्पनीका ६२ थान मोबाइल तथा ट्याब बरामद गरेको जनाएको छ।
यादवकाअनुसार बरामद सामग्रीमा विभिन्न सिरिजका एप्पल कम्पनीका ५० थान आईफोन, सामसुङका ६ थान मोबाइल, रेडमीका २ थान मोबाइल, एप्पलको १ थान आईप्याड र भिभोको १ थान मोबाइल रहेका छन्।
त्यसैगरी, भरतपुर महानगरपालिका–९ रामनगरस्थित क्षेत्रमा बिलबिजकविना मोबाइल फोनहरू ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले जाँच गर्ने क्रममा नवलपुरको देवचुली नगरपालिका–२ बस्ने २८ वर्षीय अमानन्द भुजेललाई पक्राउ गरेको छ। उनको साथबाट बिलबिजकविना ल्याइएका ५ थान आईफोन बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद मोबाइलसहित दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय वीरगञ्ज पठाएको यादवले जानकारी दिनुभयाे । प्रहरीले पछिल्लो समय बिलबिजकविना मोबाइललगायतका सामानको बिक्री तथा ओसारपसार नियन्त्रणका लागि निगरानी बढाएको जनाएको छ।





प्रतिकृया दिनुहोस्