नवलपुर । नेपालीहरुको महान् चाड दसैँमा लिङ्गे पिङ हाल्नका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा वडा कार्यालयले आर्थिक सहयोग गर्ने भएको छ ।
जिल्लाको गैँडाकोट नगरपालिका वडा नम्बर २ को कार्यालयले वडाका सम्पूर्ण टोल विकास संस्थालाई लिङ्गे पिङ हाल्नका लागि आर्थिक सहयोग गर्ने भएको हो । वडाध्यक्ष प्रकाश सापकोटाले लोप हुन लागेको लिङ्गे पिङको जगेर्ना गर्ने उद्देश्यले वडाभित्रका १० वटै टोल विकास संस्थालाई पिङ निर्माण गर्न आर्थिक सहयोग गर्न लागिएको बताउनुभयो । “नेपालीहरुको महान् पर्व दसैँ, तिहार तथा छठको अवसरमा कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यस्वरुप हामीले टोल विकास संस्थामार्फत पिङ हाल्न सहयोग गर्दैछौँ” सापकोटाले भन्नुभयो, “हामीले प्रति पिङ हाल्न लाग्ने अनुमानित खर्च रु पाँच हजार ५०० प्रदान गर्ने निर्णय गरेका छौँ ।”
टोल विकास संस्थाहरुले आफ्नो टोलमा लिङ्गे पिङ हालेपछि बिल, भरपाई बुझाएर वडा कार्यालयबाट भुक्तानी लिन सक्ने वडाध्यक्ष सापकोटाले बताउनुभयो । “संस्कार र संस्कृति जोगाउन सकेमा हाम्रो सभ्यता जोगिन्छ” उहाँले लोक सूचनासँग भन्नुभयो, “सभ्यता जोगिएमा मात्र हामी नेपाली हौँ भनेर गर्व गर्न सक्छौँ, त्यसैले पिङ हाल्न आर्थिक सहयोग गर्ने निर्णय गरेका हौँ ।” स्थानीय कला, संस्कार र संस्कृति जोगाउनु पनि स्थानीय सरकारको दायित्व भएको सापकोटाको भनाइ छ ।
पछिल्लो समय दसैँको बेलामा विभिन्न कारणले गाउँघरमा लिङ्गे पिङ हाल्ने परम्परा हराउँदै गएकाले मौलिक संस्कृतिको संरक्षणका लागि वडाले पहल गरेको सापकोटाले बताउनुभयो ।





प्रतिकृया दिनुहोस्