नवलपुर, ३१ साउन । नवलपुरको गैँडाकोटमा नेवार समुदायले रोपाइँ जात्रा निकालेका छन् । संस्कृति संरक्षणसँगै पुस्तान्तरणका लागि रोपाइँ जात्रा निकालिएको नेवाः पुचः गैँडाकोटले जनाएको छ ।
जात्राको उद्घाटन गर्दै गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले नेवार समुदाय कला र संस्कृतिमा धनी रहेकाले संस्कृति संरक्षणमा समुदाय एकजुट हुनु प्रशंसनीय काम भएको बताउनुभयो । नगरभित्रका समुदायले मनाउने कला र संस्कृति नगरपालिकाको महत्वपूर्ण सम्पत्ति भएको भन्दै अधिकारीले ती सम्पत्ति संरक्षणका लागि नगरपालिका हरदम तयार रहेको बताउनुभयो । हरेक व्यक्ति र समुदायलाई आफ्नो संस्कृति प्यारो हुने भन्दै पुस्तान्तरण गर्दै संस्कृति संरक्षणमा लाग्नुपर्नेमा अधिकारीले जोड दिनुभयो ।
रोपाइँ जात्राको आयोजक नेवाः पुचः गैँडाकोटका अध्यक्ष रेशमकुमार श्रेष्ठले श्रीकृष्ण जन्माष्टमीका दिन मनाइने यस पर्वले परिवर्तित समयसँगै रोपाइँ जात्रा मनाउने क्रम पनि परिवर्तन भएको बताउनुभयो । उहाँले पछिल्लो पुस्ताहरुमा कला र संस्कृतिबारेको चासो कम हुँदै गएकाले पनि जात्रा मनाउने प्रचलनमा परिवर्तन आएको बताउनुभयो । “पहिले पहिले रोपाइँ जात्रा निकाल्ने तथा जात्राको खर्च व्यवस्थापन गर्ने व्यक्तिलाई पुत्रलाभ हुने किंवदन्ती थियो” उहाँले भन्नुभयो, “सन्तान नभएका व्यक्तिहरुले रोपाइँ जात्रा निकालेपछि सन्तान प्राप्ती भएको हामी आफैले पनि देखेका छौँ ।”
जात्रासँग सम्बन्धित घटनाका बारेमा अहिलेका पुस्ताले विश्वासनै नगर्ने भन्दै उहाँले कला र संस्कृति जोगाउनु अहिलेको अपरिहार्य आवश्यकता भएको बताउनुभयो । उहाँकाअनुसार हरेक वर्ष रोपाइँ सकिएको खुसीयालीमा रोपाइँ गर्दा गरिनै सबै कार्यसहित हास्यव्यङ्ग्य गर्दै रोपाइँ जात्रा मनाउने गरिन्छ । “रोपाइँ जात्राका क्रममा पञ्चेबाजाको धुनमा नाचगान हुन्छ” उहाँले भन्नुभयो, “मानिस नै गोरु बन्छन्, हली, बाउसे, खेताला तथा रोपाहार भएर जात्रा निकालिन्छ ।”
आज (शनिबार) निकालिएको जात्रामा नेवार समुदायसँगै थारु समुदायसमेत आफ्नो मौलिक पोशाकमा सजिएर जात्रामा सहभागी भएका थिए । दिउँसो निकालिएको जात्राले नगरको विभिन्न भाग परिक्रमा गरेको थियो ।





प्रतिकृया दिनुहोस्