काठमाडौँ, १ भदौ । गएको वैशाखदेखि साउन ३१ सम्मको चार महिनामा देशभर दुई हजार ८५३ विपद्का घटनाले जनजीवन अस्तव्यस्त बनाएको छ। बाढी, पहिरो, आगलागी, चट्याङ, हुरीबतासजस्ता घटनाले १२६ जनाको ज्यान लिएको छ भने ५८५ जना घाइते भएका छन्।
विपद्का घटनामा परेका २३ जना अझै बेपत्ता छन्। विपद्का कारण ५०४१ परिवार विस्थापित भएका छन्। साउन ३१ गते मात्र २४ विपद्का घटना भएका छन्। तीमध्ये पहिरो ८, आगलागी ७, अविरल वर्षा ४, जनावर आक्रमण ३, बाढी १ र अन्य १ घटना रहेका छन्। सो दिन एक जनाको मृत्यु भएको छ भने रु ३८ लाख ४० हजार बराबरको क्षति भएको छ।
विपद् व्यवस्थापनमा नेपाल प्रहरीका १४० जना सुरक्षाकर्मी खटिएका थिए। चार महिनाको अवधिमा सबैभन्दा बढी आगलागीका १,११४ घटना भएका छन्। त्यसपछि पहिरो ३१७, हुरीबतास २७७, चट्याङ २४५, बाढी २१६, भारी वर्षा २२१, डढेलो १५८, जनावर आक्रमण १७२, सर्पदंश ७७, लेक लाग्ने ४६, भूकम्प ५, डुङ्गा पल्टिने २, असिना हुरी १ र अन्य १ घटना रहेका छन्।
सरकारले विपद् न्यूनीकरणका लागि पूर्वतयारी, जनचेतना र सहकार्यलाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ





प्रतिकृया दिनुहोस्