नवलपुर, १ भदौ । गत आर्थिक वर्ष २०८१/२०८२ मा चितवन राष्ट्रिय निकुञ्ज घुम्नने पर्यटकको सङ्ख्या एक चौथाइले घटेको छ । कोरोना महामारीपछि विस्तारै उकासिँदै गएको चितवनको पर्यटन अघिल्लो वर्ष एक्कासि घटेको निकुञ्जको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८१/२०८२ मा घुम्न आउने पर्यटकको सङ्ख्या अघिल्लो आर्थिक वर्ष २०८०/२०८१ को तुलनामा करिब ७५ हजार जनाले कमी भएको निकुञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवम् संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार गत आव २०८१/२०८२ मा दुई लाख ३१ हजार तीन सय २९ जना पर्यटक निकुञ्ज भ्रमण गरेका थिए । तर, यो सङ्ख्या अघिल्लो आव २०८०/२०८१ मा तीन लाख छ हजार आठ सय ३७ जना रहेको थापामगरले जानकारी दिनुभयो ।
चितवन राष्ट्रिय निकुञ्जकै इतिहासमा अघिल्लो आव २०८०/२०८१ मा सबैभन्दा धेरै पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए । अघिल्लो आवमा निकुञ्ज घुम्ने पर्यटकको तुलनामा गत आवमा घट्नुका कारणमध्ये सबैभन्दा महत्वपूर्ण कारण स्थलमार्ग हुँदै चितवनसम्म आउने सडकको अवस्था नराम्रो हुनु रहेको सूचना अधिकारी थापामगरले बताउनुभयो । सङ्घीय राजधानी काठमाडौँ, गण्डकी प्रदेशको राजधानी पोखरा तथा पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकको अवस्था खराब भएका कारण पर्यटक घटेका हुनसक्ने विश्लेषण गरिएको उहाँको भनाइ छ ।
सूचना अधिकारी थापामगरका अनुसार गत आव २०८१/२०८२ मा एक लाख १७ हजार दुई सय ६ जना आन्तरिक तथा एक लाख १४ हजार एक सय २३ बाह्य पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए । गत वर्ष निकुञ्ज घुम्न आउने बाह्य पर्यटकमध्ये भारत, बङ्गलादेश, भुटानसहितका सार्क मुलुकबाट २४ हजार आठ सय र सार्कबाहेकका मुलुकबाट ८९ हजार तीन सय २३ जना पर्यटक रहेका थापामगरको भनाइ छ । चितवन निकुञ्जमा सबैभन्दा बढी पर्यटक आएको अघिल्लो आव २०८०/२०८१ मा बाह्य मुलुकका पर्यटकको सङ्ख्या एक लाख ३० हजार पाँच सय ५१ जना रहेको थियो ।
त्यस वर्ष भारत, बङ्गलादेश, भुटानसहितका सार्क मुलुकबाट ३६ हजार चार ७१ जना तथा सार्कबाहेकका मुलुकबाट ९४ हजार ५० जना पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका निकुञ्जको तथ्याङ्कमा उल्लेख गरिएको छ । अघिल्लो आव २०८०/२०८१ को तुलनामा गत आव २०८१/२०८२ मा बाह्य पर्यटकहरुको उपस्थिति १६ हजार चार २८ ले कमी रहेको सूचना अधिकारी थापामगरले बताउनुभयो । गत आव २०८१/२०८२ मा निकुञ्ज घुम्न आएका पर्यटकमध्ये सबैभन्दा बढी कात्तिकमा ३२ हजार दुई सय ५२ जना रहेका उहाँले जानकारी दिनुभयो ।
त्यस्तै, गत आव २०८१/२०८२ मा सबैभन्दा कम साउनमा सात हजार तीन सय नौ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका उहाँको भनाइ छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्ज प्रवेश गर्ने पर्यटकहरुबाट राजस्व सङ्कलन समेत गर्दै आएको छ । चितवनमा मुख्यगरी निकुञ्जभित्र रहेका दुर्लभ वन्यजन्तु बाघ, गैँडाजस्ता जनावर हेर्न, राप्ती नदीमा डुङ्गा सयर र थारु संस्कृति हेर्न पर्यटक आउने गर्दछन् । पर्यटक हात्ती, जिप, पैदल, डुङ्गाबाट निकुञ्ज र मध्यवर्ती क्षेत्रमा घुम्ने गर्दछन् । यसरी घुम्न पर्यटकले टिकट काट्नु पर्दछ ।
निकुञ्ज प्रवेश गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) सहित नेपालीले एक सय ५० रुपैयाँ, सार्क मुलुकका पर्यटकले एक हजार रुपैयाँ तथा विदेशी पर्यटकले दुई हजार रुपैयाँ राजस्व तिर्नुपर्दछ । त्यसैगरी व्यावसायिक जङ्गल यात्रामा कारले तीन हजार रुपैयाँ तथा जिपले पाँच हजार रुपैयाँ राजस्व तिरेर मात्रै सवारीसाधन निकुञ्जभित्र लैजान पाइन्छ । निकुञ्जले गत आव २०८१/२०८२ मा निकुञ्ज प्रवेश गर्ने पर्यटकबाट ३३ करोड ८६ लाख २३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको सूचना अधिकारी थापामगरले जानकारी दिनुभयो ।
पछिल्लो एक दशकको तथ्याङ्कानुसार चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकमध्ये सबैभन्दा कम आव २०७२/२०७३ मा ८७ हजार तीन सय ९१ थिए । त्यस्तै कोरोना भाइरसको महामारी फैलिएको समय आव २०७७/२०७८ मा ९८ हजार दुई सय २८ जना पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमेका थिए ।





प्रतिकृया दिनुहोस्