चितवन, ६ भदौ । किङ्स कलेज लन्डनका वैज्ञानिकहरूले प्रयोगशालामा मानव दाँत सफलतापूर्वक उमार्न सकेका छन्, जुन दन्तचिकित्साको क्षेत्रमा ऐतिहासिक उपलब्धि मानिएको छ।
मानव शरीरमा दाँत एकपटक मात्र फेरिन्छ, तर अन्य प्राणीमा बारम्बार दाँत उम्रने प्रक्रियाबाट प्रेरित हुँदै वैज्ञानिकहरूले इम्पेरिअल कलेज लन्डनसँग सहकार्यमा विशेष पदार्थ प्रयोग गरेर कोशिकालाई “दाँत बन्ने संकेत” दिन सफल भएका छन्।
यस प्रविधिले कृत्रिम इम्प्लान्टको विकल्प दिन सक्छ, जसमा शल्यक्रिया र हड्डीसँग मिलाउने जटिलता हुँदैन। अनुसन्धानकर्ता शुएशेन जाङका अनुसार प्रयोगशालामा उमारिएका दाँतहरू गिजासँग प्राकृतिक रूपमा मिल्छन्, बलिया हुन्छन् र शरीरले अस्वीकार गर्ने सम्भावना पनि न्यून हुन्छ।
हाल वैज्ञानिकहरू ती दाँतहरूलाई मानव मुखमा स्थानान्तरण गर्ने सम्भाव्यता परीक्षणमा जुटिरहेका छन्। दुई विकल्प छन्—कोषहरू मुखभित्रै प्रत्यारोपण गरेर दाँत बढाउने वा प्रयोगशालामा पूर्ण दाँत तयार गरेर पछि प्रत्यारोपण गर्ने।
प्राध्यापक सूर्शा ओ’टूलुका अनुसार यो प्रविधिले दीर्घकालीन समाधान दिन सक्छ, जसले आत्मविश्वास मात्र होइन, समग्र स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्न सक्छ। यो खोजले भविष्यमा दन्तचिकित्सा क्षेत्रलाई पूर्णरूपमा पुनर्परिभाषित गर्ने आशा जगाएको छ।





प्रतिकृया दिनुहोस्