भारत, ६ भदौ । रमाइलोको प्रतीक मानिने जुत्ता लुकाउने परम्पराले भारतको बिजनौर जिल्लाको गढमलपुरमा एक विवाह समारोहलाई नाटकीय मोडमा पुर्याएको छ। बेहुली पक्षले जुत्ता फिर्ता गर्न ५० भारु माग गरेपछि विवाद चर्कियो र अन्ततः जन्ती बेहुली बिना नै फर्किएको छ।
शनिबार मोहम्मद साबिर र खुर्शीदकी छोरीबीच निकाह सम्पन्न भएको थियो। विवाहको विधि चलिरहेका बेला सालीहरूले बेहुलाको जुत्ता लुकाए, जुन भारत तथा नेपालका विभिन्न समुदायमा प्रचलित परम्परा हो। तर जब बेहुली पक्षले ५० हजार भारु माग गरे, बेहुला पक्षले केवल पाँच हजार भारु दिन तयार भयो। यही विषयले विवादको रूप लियो।
बेहुला पक्षले दुलहीका परिवारले बन्धक बनाएर कुटपिट गरेको, अपशब्द बोलेको र गाली गलौज गरेको आरोप लगाए। उता बेहुली पक्षले बेहुलाले दाइजोमा स्विफ्ट कार मागेको र अभद्र व्यवहार गरेको आरोप लगायो। दाइजोस्वरूप दुई लाख भारुको चेक पनि दिइएको बताइएको छ।
विवाद चर्किएपछि दुवै पक्ष प्रहरी चौकी पुगे। सम्झौता प्रयास असफल भएपछि बेहुलाले सम्बन्ध विच्छेदको घोषणा गरे र जन्ती रित्तै फर्कियो। यो घटनाले परम्परागत रमाइलो चलनले कसरी गम्भीर विवाद निम्त्याउन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ। विवाहको उत्सव तनाव र आरोप-प्रत्यारोपमा परिणत हुँदा स्थानीय समाजमा पनि चासोको विषय बनेको छ।





प्रतिकृया दिनुहोस्