चितवन । सङ्घीय संसद्मा पेस भएको विद्यालय शिक्षा विधेयकविरुद्ध आन्दोलित निजी विद्यालयका संगठन प्याब्सन, एनप्याब्सन, हिसान, अपिनलगायतका संस्थाद्वारा बुधबार विरोधस्वरूप खबरदारी सभाको आयोजना गरिएको छ । भरतपुरस्थित चौबिसकोठी चोकमा भएको खबरदारी सभामा चितवनका सम्पूर्ण पालिकाका निजी विद्यालयमा कार्यरत, प्रधानाध्यापक, शिक्षक÷शिक्षिका तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।
निजी विद्यालय बन्द हुनेगरी ल्याउन खोजिएको ऐनले निजी विद्यालयको घाँटी निमोठिने र यो ऐन लगानीमैत्री नरहेको भन्दै साउन २९ गतेदेखि विद्यालय सञ्चालकहरु निरन्तर आन्दोलनमा छन् । विधेयकमा समावेश भएको १५ प्रतिशत पूर्ण छात्रवृत्ति र गैरनाफामूलक शब्द तथा उच्च शिक्षाको छात्रवृत्तिमा भएको विभेदलगायतका विषयमा आपत्ति जनाउँदै निजी विद्यालय सञ्चालकहरु आन्दोलनमा छन् ।
खबरदारी सभालाई सम्बोधन गर्दै मेट्रो प्याब्सन भरतपुरका अध्यक्ष मीनराज बस्ताकोटीले निजी विद्यालयको मर्का बुझिदिन राजनीतिक दलका प्रतिनिधि, सांसदहरू, सञ्चारकर्मी तथा अभिभावक सबैलाई आग्रह गर्नुभयो । कक्षाकोठामा हुनुपर्ने शिक्षक सडकमा उत्रिनु परेको भन्दै उहाँले आफूहरूको यो बाध्यतालाई कमजोरी नठान्न आग्रह गर्नुभयो । कम्पनी ऐनअनुसार नियमबमोजिम कर तिर्ने विद्यालयहरूलाई गैरनाफामूलक भनिनु आफैमा विरोधाभास रहेको उहाँको भनाइ थियो ।
बस्ताकोटीले ‘सडकमा स्कुल बस ते¥स्याएर निजी स्कुलको रमिता’ भन्ने केही अनलाइन मिडिया र युट्युबको समाचारप्रति आपत्ति जनाउँदै भन्नुभयो, ‘तपाईंको कलम भाँचियो, तपाईंको क्यामेरा तोडियो भने कसरी सञ्चारकर्म गर्नुहुन्छ ?’ उहाँले आग्रही–पूर्वाग्रही नभई तथ्य बुझेर मात्र समाचार सम्प्रेषण गरिदिन सञ्चारकर्मीहरूलाई आग्रह गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै हिसान चितवनका अध्यक्ष दीपेन्द्र ढकालले निजी विद्यालयले १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइरहेको र विद्यालयलमा उत्पादन नहुने र विद्यालयले समेत किन्नुपर्ने वस्तुहरू पोसाक, पुस्तक, खाना तथा प्रयोगशालालगायतका शुल्कमा छात्रवृत्ति प्रदान गर्न नसकिने बताउनुभयो । राज्यले चाहेजस्तो छात्रवृत्ति उपलब्ध गराउन बाँकी विद्यार्थीले बढी शुल्क तिर्नुपर्ने अवस्था आउने बताउँदै उहाँले ‘एउटा छोराको गाँस काटेर अर्को छोरा पढाउन नसकिने’ बताउनुभयो ।
सभामा प्याब्सन बागमती प्रदेशका सल्लाहकार टीकाराम चपाईंले समाजवाद उन्मुख भनिएको हाम्रो संविधानले स्वास्थ्य, शिक्षालगायतका आधारभूत आवश्यकतालाई निःशुल्क भनिए पनि व्यवहारमा फरक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘राज्यले आफ्ना कर्तव्य पूरा गरोस्, हामी सरकारले भनेजस्तो गर्न तयार छौँ ।’ संविधानले व्यक्तिगत सम्पत्तिको अधिकार प्रत्याभूत गरेकोमा सरकार त्यसको बर्खिलाप हुनेगरी कार्य गर्न उद्यत रहेको भन्दै उहाँले आफूहरूको लगानी फिर्ता गरिए आफूहरू सरकारले भनेजस्तो गर्न तयार रहेको बताउनुभयो ।
‘कम्पनी ऐनअनुसार काम गर भनिएको छ, लगानी गर भनिएको छ तर फाइदा चै खान पाउँदैनौ भनिएको छ, यो चैँ बाँदरले आफ्नो घर नबनाउने र अरूको घर पनि भत्काइदिएजस्तै हो’, उहाँले भन्नुभयो । आफूहरूको आग्रहलाई कमजोरी नठान्न चेतावनी दिँदै उहाँले भन्नुभयो ‘सरकारको यो कदम उद्यमशिलता विरोधी छ ।’ उच्च शिक्षाको ४५ प्रतिशत छात्रवृत्तिमा संस्थागत विद्यालयका विद्यार्थीलाई विभेद गरिएको बताउँदै उहाँले यो ऐनले धेरै क्षेत्रमा असर पु¥याउने भएकोले विरोधमा ऐक्यबद्धता जनाउन आग्रह गर्नुभयो ।
प्याब्सन केन्द्रीय समितिका प्रतिनिधि कीर्तिनिधि अर्यालले शिक्षा क्षेत्रलाई तहसनहस पारेर समृद्धि नआउने भन्दै बताउँदै कानुन निर्माणको तहमा पुगेका निजी स्कुल पढेका सांसदहरूले त्यसलाई बिर्सिएको बताउनुभयो । निजी विद्यालयले विश्वव्यापीरूपमा स्पर्धा गर्ने जनशक्ति निर्माण गर्न ९० प्रतिशत नतिजा दिएको उहाँले बताउनुभयो । उहाँले उच्च शिक्षाका लागि सरकारले उपलब्ध गराउने ४५ प्रतिशत छात्रवृत्तिमा निजी विद्यालयका विद्यार्थीलाई स्पर्धाबाट वञ्चित गरेर सरकार नै दुईथरी शिक्षाको अभ्यास गरेको बताउनुभयो । उच्च शिक्षाको छात्रवृत्ति क्षमता र दक्षताको आधारमा हुनपर्ने उहाँको माग थियो ।
आन्दोलनमा सहभागी विद्यालयका प्रअहरूको तर्फबाट विरोध कार्यक्रमलाई सम्बोधन गर्दै डेजी इङ्लिस स्कुलका प्रिन्सिपल प्रेम रिमालले निजी विद्यालयहरूले अभिभावकका जायज मागलाई सौहार्दपूर्ण सम्बोधन गर्ने र निजी विद्यालयप्रति देखिएको अभिभावकको आकर्षण नै निजी विद्यालय अब्बल रहेको प्रमाण भएको बताउनुभयो । आफूहरूले पनि नारायणी नमुना माविजस्ता स्कुलहरूबाट सिक्ने मौका पाएको बताउँदै आफूहरू साझेदारीका लागि तयार रहेको उहाँको भनाइ छ । रास्वपाकी संसाद सुमना श्रेष्ठप्रति लक्षित गर्दै उहाँले भन्नुभयो, ‘अङ्ग्रेजी बोल्दैमा र दुई÷चार विषयमा डिग्री गर्दैमा कोही पनि शिक्षाविद् हुँदैन ।’
उहाँले आफूहरूको यो लडाईँ निजी शिक्षण संस्थाको मात्र नभएको र सरकार लाखौँ बालबालिकाको भविष्य बर्बाद पार्न उद्यत रहेको आरोप लगाउनुभयो । उच्च शिक्षाको ४५ प्रतिशत छात्रवृत्तिमा कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमै पढेको हुनुपर्ने विभेदकारी नीतिले योग्य विद्यार्थी वञ्चित हुनुपर्ने अवस्था रहेको बताउँदै उहाँले निजी विद्यालयले बालबालिकाको सिर्जनात्मक सीपमा लगानी गरिरहेको बताउनुभयो । ‘शुल्क लिन नपाउने, जबरजस्ती छात्रवृत्ति दिनुपर्ने अनि सरकारले भनेजस्तो सुविधासम्पन्न भवन, प्रयोगशाला, खेलमैदान र कक्षाकोठा पनि बनाउनुपर्ने भन्ने कुरा आफैमा विरोधाभासपूर्ण छ’ उहाँले भन्नुभयो ।
उहाँले आफूहरूलाई सक्काउने हो भने सरकारले सामुदायिक विद्यालयको नतिजा राम्रो बनाउन चुनौती दिनुभयो । धन्यवाद मन्तव्य व्यक्त गर्दै प्याब्सन चितवनका अध्यक्ष मदन पुरीले आफूहरूले शिक्षामा गरेको लगानी अवैध नभएको बताउँदै उहाँले यो वैध सेवामूलक व्यवसाय गर्नबाट बञ्चित गरिनु नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नीति निर्माताहरूको अकर्मण्यताले ११ वटै युनिभर्सिटीहरू खाली छन्, अब सरकारले माध्यमिक शिक्षाका लागि पनि नैनीताल, दार्जीलिङ्गलगायतका भारतीय सहरमा नेपाली विद्यार्थी लखेट्ने खेल खेल्दैछ ।’
उहाँले निजी विद्यालयले राम्रो नतिजा दिँदादिँदै पनि राज्यबाट सौतेलो व्यवहार हुने गरेको आरोप लगाउनुभयो । अध्यक्ष पुरीले अब हुने काठमाडौँ केन्द्रित आन्दोलनमा सबैको सक्रिय सहभागिताको लागि आह्वान गर्नुभयो । भदौ २५ गतेदेखि केन्द्रिकृत आन्दोलनको तयारीमा रहेका निजी विद्यालयहरूले विद्यालयको पठनपाठनलाई भने असर नगर्ने गरी कार्यक्रम सञ्चालन गरिरहेका छन् ।





प्रतिकृया दिनुहोस्