आनन्द पोखरेल
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६, स्थित तुइन खोलामा मङ्गलबार अपराह्न पहिरो खस्दा नारायणघाट–मुग्लिन सडक खण्ड पूर्णरुपमा अवरुद्ध बनेको छ ।
मङ्गलबार दिउँसो १ बजेदेखि नै स–सानो पहिरोका खस्दा अवरुद्ध बनेको यो सडक खण्ड अपराह्न ५ बजेको समयमा झनै ठूलो पहिरो खसेपछि पूर्णरुपमा नै अवरुद्ध बनेको हो । माथि पहाडबाट निरन्तररुपमा सुख्खा पहिरो झरिरहेका कारण पहिरो पन्छाउन समस्या भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । गत शुक्रबार साँझ यही स्थानमा ठूलो पहिरो खस्दा करिब ४५ घण्टा यो सडक खण्ड अवरुद्ध भएको थियो ।
केही दिनयता तुइन खोलामा स–साना पहिरो खस्ने क्रम रोकिएको रोकिएको छैन । सामान्य पहिरो खस्दा सडक एकतर्फी सञ्चालन गर्दै पहिरो हटाएर आवागमन सहज बनाइएको भए पनि ठूलो पहिरो जाँदा राजमार्ग पूर्णरुपमा अवरुद्ध हुने गरेको कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण प्रसाद आचार्यले जानकारी दिनुभयो । पहिरो खसेर सडक बन्द हुँदा दसैँका लागि घर फर्किने हजारौँ यात्रुहरु बीच बाटोमा अलपत्र परेका छन् ।
वैकल्पिक सडक प्रयोग गर्न आग्रह
नारायणघाट–मुग्लिन सडक खण्डको तुइन खोलामा नियमित रुपमा सुख्खा पहिरो खस्न थालेपछि स्थानीय प्रशासनले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सार्वजनिक सूचना जारी गर्दै पहाडबाट निरन्तर ढुङ्गा झरेको कारण उपकरण सञ्चालन गरि पहिरो हटाउनमा समस्या भएको भन्दै वैकल्पिक सडक प्रयोग गर्न यात्रुहरुलाई आग्रह गर्नुभएको हो । ‘नारायणघाट–मुग्लिन सडक खण्डमा मङ्गलबार गएको ठूलो पहिरोका कारण उक्त सडकबाट हुने आवागमन पूर्ण रुपमा बन्द हुन पुगेको छ’ उहाँले भन्नुभयो ।
‘सडक तत्काल खुल्न सक्ने सम्भावना नदेखिएकोले उक्त सडक प्रयोग गर्ने सवारी धनी, सवारीसँग सम्बन्धित संघ–संस्थाहरु तथा यात्रु महानुभावहरुलाई सम्बन्धित जिल्लाका स्थानीय प्रशासनसँग समन्वय गरी उपयुक्त वैकल्पिक मार्ग प्रयोग गर्नुहुन अनुरोध छ’ मङ्गलबार जारी सूचनामा भनिएको छ । प्रमुख जिल्ला अधिकारी अर्यालले नारायणघाट–मुग्लिन सडकको विकल्पमा महोत्तरी जिल्लाको बर्दिवास, मकवानपुर जिल्लाको हेटौँडा, रुपन्देही जिल्लाको बुटवल, नवलपरासी बर्दघाट सुस्ता पूर्वको कावासोती र गैँडाकोट, धादिङ जिल्लाको नौबीसे तथा तनहुँ जिल्लाको हकमा खैरेनीटारबाटै उपयुक्त वैकल्पिक मार्ग भएर यात्रा गर्न अनुरोध गर्नुभएको छ ।
नारायणघाट–मुग्लिन भएर यात्रा गर्नुपूर्व सडकको अवस्था बुझी एकिन गरेर मात्र यात्रा गर्नुहुन तथा सडकमार्गमा रहेका यात्रुहरुलाई कुनै समस्या परेमा सडक सुरक्षार्थ खटिइएका ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीहरुसँग सूचना एवं सहयोग लिन समेत प्रमुख जिल्ला अधिकारी अर्यालले आग्रह गर्नुभएको छ ।
‘हाम्रो अनुरोध छ, जोखिम मोलेर यात्रा नगरौं, ज्यान बचाऔं यात्रा पछि गरौँला, घुमेरै यात्रा गरौं बाटो खुल्ने आशामा आफै दुःख हैरानीमा नपरौँ । तत्कालका लागि यो बाध्यात्मक विकल्प हो, सडक खुलाउन हरदम प्रयत्न गरिरहेका छौँ’ प्रमुख जिल्ला अधिकारी अर्यालद्वारा जारी सूचनामा अगाडि भनिएको छ, ‘आवागमन सम्भव भए पश्चात पुनः सूचना गर्ने नै छौँ । यस सम्बन्धमा आवश्यक जानकारी एवं सूचनाको लागि जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवं प्रहरी नायब उपरिक्षक रवीन्द्र खनाल (९८५५०१३९९९), जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी मदन लामा थिङ (९८५५०९२२००) र सडक डिभिजन भरतपुरका सूचना अधिकारी, कृष्ण प्रसाद आचार्य (९८५५०९२२१८) मा सम्पर्क गर्नु हुन समेत अनुरोध छ ।’
मङ्गलबार रातिको समयमा पहिरो हटाउन नसकिने भन्दै बुधबार बिहानैबाट पहिरो हटाउने काम सुरु गरिने उहाँले बताउनुभयो । नारायणघाट–मुग्लिन सडक स्तरोन्नतीपछि यस सडकमा पहिरो खस्न सम्भावित ठाउँहरुको पहिचान गरिएको भए पनि सबै स्थानमा रोकथामको काम गरिएको छैन ।





प्रतिकृया दिनुहोस्