नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा एक वर्षको अवधिमा सिँचाइका लागि १६ वटा डीप बोरिङ वितरण गरिएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा वितरण भएको डीप बोरिङले जिल्लाका करिब चार सय २५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको भूमिगत जल सिँचाइ आयोजना कार्यालय भरतपुरले जनाएको छ ।
आयोजना प्रमुख इन्जिनियर विश्वबन्धु केसीले एउटा डीप बोरिङबाट करिब २५ देखि ३० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने बताउनुभयो । “हामीले गत वर्षबाट मात्रै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा डीप बोरिङको काम गरेका हौँ” उहाँले भन्नुभयो, “एउटा डीप बोरिङबाट करिब एक सय ५० जनासम्म कृषकहरु लाभान्वित हुनुभएको छ ।” जिल्लाको गैँडाकोट नगरपालिकामा पाँच, विनयी त्रिवेणी गाउँपालिकामा चार, मध्यविन्दु नगरपालिकामा तीन, कावासोती नगरपालिकामा तीन र देवचुली नगरपालिकामा एउटा डीप बोरिङ वितरण गरिएको जानकारी दिनुभयो ।
किसानबाट माग भएपछि सम्भाव्यता अध्ययन गरी प्राथमिकताको आधारमा डीप बोरिङ वितरण गरिने आयोजना प्रमुख केसीले बताउनुभयो । “डीप बोरिङ माग गर्नका लागि ३५ बिघा क्षेत्रफल जमिनको लालपुर्जा र वडाको सिफारिस लिएर आउनुपर्छ” उहाँले भन्नुभयो, “डीप बोरिङमा पानी आउने सम्भावित अवस्था छ कि छैन अनुगमन गरेर, आवश्यकता पहिचान गरी प्रकृयामा जान्छौँ ।” किसानहरुबाट डीप बोरिङको माग धेरै हुने तर स्रोतसाधनको सीमितताका कारण सबैलाई उपलब्ध गराउन सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।
चालु आर्थिक वर्षका लागि नवलपुरका पाँच वटा पालिकाबाट २० वटा डीप बोरिङको माग भई आएको केसीले बताउनुभयो । “अघिल्लो वर्ष किसानको मागबामोजिम डीप बोरिङ वितरण गर्न सफल भयौँ, तर यसवर्ष बजेट थोरै आएको छ” उहाँले भन्नुभयो, “हाम्रो कार्यक्रममा नवलपुर, चितवन र मकवानपुरको तीन जिल्लाका लागि जम्मा १२ वटा बोरिङ स्वीकृत भई आएको छ ।” समानुपातिक हिसाबबाट वितरण गर्दा पनि एउटा जिल्लामा चारवटा भन्दा बढी डीप बोरिङ उपलब्ध गराउन सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।
प्रति बोरिङ निर्माण गर्नका लागि रु २१ लाख खर्च हुने भन्दै उहाँले तीन प्रतिशत जनसहभागिता हुनुपर्ने बताउनुभयो । “किसानहरुको जनसहभागिता श्रमदान तथा नगद दुवैमा गर्न सक्नुहुन्छ” उहाँले भन्नुभयो, “हालसम्म किसानहरुको सहभागिता श्रमदानमार्फत हुँदै आएको छ ।” नवलपुरको गैँडाकोट, कावासोती र विनयी त्रिवेणीमा करिब १०० मिटर गहिराइबाट पानी आउने गरेको भन्दै उहाँले मध्यविन्दु र देवचुलीमा भने ११० मिटरभन्दा बढी गहिराइको बोरिङ गाड्नुपरेको बताउनुभयो ।
“हामीले आवश्यकता पहिचान गर्दा नहर लाग्ने, कुलो लाग्ने तथा खोलाको पानी लाग्ने ठाउँमा बोरिङ वितरण गर्दैनौँ” उहाँले भन्नुभयो, “जुन ठाउँमा सिँचाइका लागि पानी आवश्यक छ, कुलो तथा नहर छैन त्यस्ता ठाउँमा मात्रै बोरिङ दिने गरेका छौँ ।” बोरिङ गाड्दा पानी आउने सम्भावना नभएको ठाउँमा समेत आफूहरुले कार्यक्रम दिन नसक्ने केसीले बताउनुभयो । जिल्लाको हुप्सेकोट गाउँपालिका, बौदिकाली गाउँपालिका र बुलिङटार गाउँपालिकाको सबै भाग पहाडी क्षेत्रमा पर्ने भन्दै उहाँले ती पालिकामा आफूहरुको कार्यक्रम नभएको बताउनुभयो ।





प्रतिकृया दिनुहोस्